जोखिमलाई सम्बोधन गर्न रेडक्रसका आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

काठमाडौँ, २० असार- मनसुन सक्रिय भएसँगै प्राकृतिक प्रकोप बाढी, पहिरोको जोखिमलाई ध्यान दिँदै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाएको छ ।

प्राकृतिक विपद्का प्रभावितलाई आपत्कालीन आवास, प्राथमिक उपचार, स्वास्थ्य र सरसफाइ, खानेपानीलगायतका क्षेत्रमा केन्द्रले सहयोग गर्नेछ ।

सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले मानवीय सेवाको सर्वाेच्च निकाय रेडक्रस आफ्नो उद्देश्यअनुसार रेडक्रसकर्मी प्राकृतिक विपद्मा परेकालाई मानवीय सेवामा जुटिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सातवटै प्रदेशमा प्राकृतिक विपद्मा परेको अवस्था, राहत, पुनःस्थापनाका अवस्थाको प्रतिवेदन लिने, तत्काल विपद्पीडितलाई आवश्यक मानवीय सहयोगका सबै सामग्रीसहित स्वयंसेवक परिचालन गर्ने व्यवस्था केन्द्रले मिलाएको छ ।

आवास, स्वास्थ्य, सरसफाइ, प्राथमिक उपचार, स्वयंसेवक परिचालन, सूचना तथा अन्तर्राष्ट्रिय सहयोग, समन्वय, अनुगमनलगायतका क्षेत्रमा सातवटै प्रदेशमा १९ कार्यसमूह सक्रिय रहेका छन् ।

बाढी पहिरोलगायत अन्य विपद् प्रभावित परिवारलाई तत्काल सहयोग गर्न १० हजार सेट सामग्री तथा ६ सय आपत्कालीन आवास सेट आफ्ना गोदामघरमा तयारी अवस्थामा राखेको छ ।

सोसाइटीका मानवीय सेवा तथा सञ्चार विभागका प्रमुख दीव्यराज पौडेलले पहिलोचरणमा नेपाल रेडक्रसले २१ हजार परिवारका लागि मानवीय सेवाका ती क्षेत्रमा सहयोग गर्नेगरी आपत्कालीन सहयोग योजना सार्वजनिक गरेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here