जुर्मुराउँदै कोइराला परिवार : आगामी महाधिवेशनबारे शशांक, शेखर र सुजाताबीच छलफल सुरु

काठमाडाैं, १० भदाैं–कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो । १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे । बिपीले २५ वर्ष, मातृकाले ४ वर्ष, गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।

कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो । कोइराला परिवारबाहिर सुवर्णशमशेरले २ वर्ष र कृष्णप्रसाद भट्टराईले एक पूर्ण कार्यकाल र कार्यबाहकसहित १९ वर्ष कांग्रेस चलाए । तर, भट्टराई नेतृत्वको कांग्रेस पनि कोइरालाको पकडभन्दा बाहिर गएन ।

१३औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवाले जितेपछि भने कांग्रेस कोइराला परिवारको पकडभन्दा बाहिर पुगेको छ । पदाधिकारी, केन्द्रीय समिति, संसदीय दलदेखि जिल्ला कार्यसमितिसम्म देउवाकै वर्चस्व छ ।

कोइराला परिवारबाट अब कसको नेतृत्व ?


गत ४ साउनमा छलफलपछि सामूहिक तस्बिर सार्वजनिक गरेर एकताको सन्देश दिएका कोइराला परिवारका तीन नेताले आगामी महाधिवेशनमा एक भएर अघि बढ्ने समझदारी बनाएका छन् ।

बिपीपुत्र शशांक महामन्त्री छन् । केशव–नोनापुत्र शेखर र गिरिजापुत्री सुजाता केन्द्रीय सदस्य छन् । लामो समय डाक्टरी पेसा गरेर राजनीतिमा आएका शशांकलाई बिपीपुत्र हुनुको फाइदा छ । तर, शेखर राजनीतिक रूपमा दुई कोइरालाभन्दा अगाडि छन् ।

कार्यकर्तासँगको भेटघाट र देश दौडाहामा शेखर सबैभन्दा अगाडि छन् । सुजातालाई पनि गिरिजापुत्री हुनुको फाइदा छ । तीन नेताबीचको सहमतिअनुसार एकजना अघि बढ्नेमा उनीहरू सहमत छन् । तर, अहिले नै नेतृत्वमा को अघि बढ्ने भन्नेमा प्रस्ट भइसकेका छैनन् ।

‘उहाँहरूलाई पार्टीको चिन्ता छ । एकढिक्का हुँदै जानका लागि भेटघाट गर्ने र खाना खाएर एकताको सन्देश दिनुभएको हो,’ कोइरालानिकट स्रोत भन्छ, ‘उहाँहरूबीचको छलफलमा नेतृत्वमा विवाद नगरी १४औँ महाधिवेशनससम्म मिलेर जाने समझदारी भएको छ ।’ भेटमा शशांकले जसले नेतृत्व गरे पनि आपत्ति नहुने बताएका थिए ।

राजनीतिक रूपमा बढी समझ शेखरसँग रहेको भन्दै नेतृत्वको विषयमा मिलाउन सकिने उनले बताएका थिए । सुजाताले पनि आफ्नो स्वास्थ्यका कारण नेतृत्वमा दाबी नरहने संकेत दिएकी थिइन् ।

रामचन्द्र पौडेलले देउवासँग अब ‘फाइट’ गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूमध्येबाटै एकलाई नेतृत्वमा अघि सार्ने निष्कर्षमा कोइरालात्रय पुगेका हुन् । बिपीका जेठा छोरा प्रकाश कोइराला अहिले राजनीतिमा सक्रिय छैनन् । श्रीहर्ष त राजनीतिमै आएका छैनन् ।

कांग्रेस सभापतिहरू

पहिलो : १२–१३ माघ, २००३ (कलकत्ता) – टंकप्रसाद आचार्य, कार्यकारी सभापति बीपी कोइराला,

दोस्रो : माघ २००४ (बनारस) – बिपी कोइराला

तेस्रो : फागुन २००५ (दरभंगा, बिहार) – मातृकाप्रसाद कोइराला

चौथो : चैत २००६ (कलकत्ता) – मातृका कोइराला

पाँचौँ : माघ २००९ (जनकपुर) बिपी कोइराला

छैठौं : २०१२ (वीरगन्ज) – सुवर्णशमशेर जेठ २०१४ (विशेष राष्ट्रिय महाधिवेशन) – बीपी कोइराला

सातौं : वैशाख २०१६ – बीपी कोइराला २०३४ (पटना) बिपीले स्वास्थ्यको कारण देखाई कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाए । बिपीको निधनपछि २०३९ कार्यावाहक सभापति

आठौं : फागुन २०४९ (झापा) – कृष्णप्रसाद भट्टराई

नवौं : वैशाख २०५३ (काठमाडौं) गिरिजाप्रसाद कोइराला

१० औं : माघ २०५७ : गिरिजाप्रसाद कोइराला,

११ औँ : भदौ, २०६२ (काठमाडौं)– गिरिजाप्रसाद कोइराला

१२ औँ : असोज, २०६७ (काठमाडौं) सुशील कोइराला

१३ औँ : २५, फागुन २०७३ः शेरबहादुर देउवा (हालसम्म)

कांग्रेस कमजोर हुँदै गयो
डा. शशांक कोइराला, महामन्त्री

संविधान संशोधनलाई अहिले फ्लोरमा लगेर टुंग्याइयो । तर, तीन–चार महिनाअघि नै किन यो प्रक्रिया अपनाइएन ? कांग्रेस कमजोर हुन थालेको आभास भएको छ । हरेक विषयमा ढिलाइ गर्दै जाँदा राम्रो हुन्न । हामीले राम्रा काम पनि गरेका छौँ । तर, राम्रा काम जनतामा लान सकेनौँ ।

केही नराम्रा काम गर्‍यौँ । यसको नजिता निर्वाचनमा भोग्यौँ । डिआइजी प्रकरण, महाअभियोग प्रकरण, राजदूतका विषयमा पार्टीको पोजिसनले राम्रो सन्देश गएन । प्रजातन्त्रलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिएनौँ । यसैले हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्दै एकजुट भएका हौँ । यसमा सबैको साथ चाहिन्छ ।

७१ वर्षे कांग्रेसमा कोइराला परिवारको नेतृत्व ४९ वर्ष 
कृष्णप्रसाद भट्टराईले १९, सुवर्णशमशेरले २ वर्ष र शेरबहादुर देउवाले डेढ वर्ष नेतृत्व गरे

००३ सालमा कांग्रेस स्थापना भएपछि बिपीले पाँचपटक गरेर २५ वर्ष पार्टीको नेतृत्व गरे । मातृकाप्रसाद कोइरालाले चार वर्ष, गिरिजाप्रसाद कोइरालाले १४ वर्ष, सुशील कोइरालाले दुईपटक गरेर ६ वर्ष (कार्यबाहकसहित) कांग्रेस सम्हाले ।

भट्टराईको नेतृत्व १९ वर्ष
०३४ मा स्वास्थ्यको कारण देखाउँदै बिपीले राजीनामा दिएपछि कृष्णप्रसाद भट्टराई कांग्रेसको कार्यबाहक सभापति भए । ०३९ मा बिपीको निधनपछि भट्टराई पुनः कार्यबाहक सभापति भए । ०४९ मा भएको आठौँ महाधिवेशनपछि भट्टराई ०५३ सालसम्म सभापति भए ।

सुवर्णशमशेर दुई वर्ष
०१२ मा वीरगन्जमा छैटौँ महाधिवेशन भएपछि सुवर्णशमशेर दुई वर्ष कांग्रेसको सभापति भए । तर, ०१४ मा विशेष राष्ट्रिय सम्मेलनबाट बिपी नै कांग्रेसमा उदाए । ०५३ मा कृष्णप्रसाद भट्टराईपछि पनि १४ वर्ष कोइराला परिवारले नै कांग्रेसको नेतृत्व गर्यो । ०७२ फागुनमा भएको १३औँ महाधिवेशनबाट शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व सम्हालिरहेका छन् ।

जुर्मुराउँदै कोइरालाहरू
देउवाले कांग्रेसको कमान्ड सम्हालेको डेढ वर्ष भएको छ । छोटो अवधिमै कोइराला परिवारका शशांक, शेखर र सुजाता देउवाप्रति असन्तुष्ट बनेका छन् । सामान्य अवस्थामा एक–अर्काकोमा सँगै नजाने, नबस्ने र खानासमेत नखाने गरेका उनीहरूले ४ साउनमा संयुक्त बैठक गरे ।

महामन्त्री शशांकको टोखास्थित घरमा बिहानको खानासहितको छलफलपछि उनीहरूले सामूहिक तस्बिर सामाजिक सञ्जालबाट बाहिर ल्याए । छलफल देउवाको डेढवर्षे नेतृत्वबारे समीक्षा र १४औँ महाधिवेशनमा कसरी जाने भन्ने पारिवारिक सल्लाहमा केन्द्रित थियो । आगामी महाधिवेशनको नेतृत्वसम्मको खुला कुराकानी नभए पनि कोइराला परिवारले आफूहरू एकजुट भएको स्पष्ट सन्देश भने दिएको थियो ।

‘संविधान संशोधनलाई अहिले फ्लोरमा लगेर टुंग्याइयो । तर, तीन–चार महिनाअघि नै किन यो प्रक्रिया अपनाइएन ? कांग्रेस कमजोर हुन थालेको आभास भएको छ । हरेक विषयमा ढिलाइ गर्दै जाँदा राम्रो हुन्न,’ डा. शशांकले नयाँ पत्रिकासँग भने, ‘हामीले राम्रा काम पनि गरेका छौँ ।

तर, राम्रा काम जनतामा लान सकेनौँ । केही नराम्रा काम ग¥यौँ । यसको नजिता निर्वाचनमा भोग्यौँ । डिआइजी प्रकरण, महाअभियोग प्रकरण, राजदूतका विषयमा पार्टीको पोजिसनले राम्रो सन्देश गएन । प्रजातन्त्रलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिएनौँ । यसैले हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्दै एकजुट भएका हौँ । यसमा सबैको साथ चाहिन्छ ।’

देउवाको पार्टी सञ्चालनप्रति महामन्त्री शशांक र सुजाताले खुलेर विरोध गरेका छैनन् । तर, शेखरले विधि, प्रक्रिया र पद्धतिको विषय उठाउँदै आएका छन् । काम गर्ने शैली र कुनै पनि विषयलाई अड्काएर राख्न हुँदैन भन्ने विषयमा सभापति देउवा र महामन्त्री शशांकको बुझाइ उस्तैउस्तै रहेको पाइन्छ । तर, पार्टीमा पकड जमाउने विषयमा भने यी दुईबीच आ–आफ्नै प्रतिस्पर्धा छ ।

फेरि संयुक्त भेटघाट
यसअघि विकसित घटनाक्रममा कोइराला परिवारका तीन नेताले संयुक्त रूपमा चासो राख्ने गरेका थिएनन् । तर, शुक्रबार शशांकको महाराजगन्जस्थित निवासमा पत्रकार महासंघको नवनिर्वाचित टोलीलाई सम्मान गर्ने कार्यक्रममा तीनैजना उपस्थित भए । पत्रकारलाई सम्मानको साथै केही राजनीतिक विषयमा कुराकानी गर्ने तयारीमा कोइरालाहरू थिए । तर, अर्को पक्षका नेता–कार्यकर्ताको बाक्लो भिड बढेपछि उनीहरूले राजनीतिक विषयमा कुराकानी गरेनन् ।

‘यसअघिजस्तै अहिले पनि एक रहेको र पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा बोल्ने तयारी उहाँहरूको थियो,’ कोइरालानिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘तर, अर्को पक्षका नेता–कार्यकर्ताको समेत बाक्लो उपस्थिति भएपछि उहाँहरूले राजनीतिक कुरा बाहिर ल्याउनुभएन ।’

पत्रकार सम्मानको कार्यक्रमअघि १५ मिनेटजति सामूहिक कुराकानी गरेका उनीहरूले मिडियासँग राजनीतिक कुराकानी गरेनन् । महामन्त्री शशांकले ‘लोकतन्त्रलाई संस्थागत गर्न प्रेसको भूमिका महŒवपूर्ण हुन्छ’ भनेर भाषण सकाए । तर, शेखर र सुजाताले केही बोलेनन् । तीन कोइरालाले पत्रकार भेटघाट गर्ने कार्यक्रम राखेको जानकारी पाएपछि देउवा पक्षका नेता डा. प्रकाशशरण महत शशांकका स्वकीय सचिव भरत तिवारीलाई फोन गर्दै कार्यक्रमस्थल पुगेका थिए ।

निरन्तर छलफल गर्ने
शुक्रबार आफ्ना कुरा बाहिर ल्याउन नपाएका यी तीन नेता एक हप्ताभित्रै पुनः छलफल गर्ने तयारीमा छन् । ‘उहाँहरूले शुक्रबार केही बोल्नुभएन । तर, एक हप्ताभित्रै फेरि छलफल गर्ने तयारी गर्नुभएको छ,’ शशांकका स्वकीय सचिव तिवारीले नयाँ पत्रिकासँग भने ।

मुख्यगरी प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा भारत जाँदा आठौँ वरीयतामा रहेका विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएकोप्रति पौडेल पक्ष र कोइरालाहरू असन्तुष्ट छन् । विधानतः उपसभापतिलाई कार्यबाहक सभापति बनाउनुपर्ने हुन्छ । तर, उपसभापति नहुँदा भएका पदाधिकारीलाई पनि बेवास्ता गरेको र छलफल पनि नगरेको असन्तुष्ट पक्षको तर्क छ ।

पार्टीमा राम्रो पकड भएका कारण निधिलाई उपसभापति मनोनीत गर्नबाट रोक्न सक्ने सामथ्र्य कोइराला परिवारमा पनि छैन । तर, आफ्नो पक्षको मत संरक्षण गर्दै एक भएर जाने र १४औँ महाधिवेशनसम्म तीनमध्ये एकले पार्टी नेतृत्वमा दाबेदारी दिने रणनीतिमा कोइरालाहरू लागेको निकट स्रोतहरू बताउँछन् । अाजकाे नयाँ पत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here