जहाज नआउँदा यात्रुसँगै हुलाक सेवा प्रभावित

सोलुखुम्बु, १४ भदौ: यहाँको फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज नआउँदा यात्रुसँगै हुलाक सेवा प्रभावित भएको छ ।

सदरमुकाम नजिकैको उक्त विमानस्थलमा एक महिनादेखि नेपाल एयरलाइन्सको विमान आउन सकेको छैन । नेपाल एयरलाइन्स फाप्लुका इञ्चार्ज गणेश श्रेष्ठका अनुसार मौसम प्रतिकूलताका कारण विमान सोलुखुम्बु आउन नसकेको हो ।

हुलाक विभाग र नेपाल एयरलाइन्सबीच चिट्ठीपत्र (डाँक) बोक्ने सम्झौता भएको छ । सोलुखुम्बु र राजधानीसँग अन्तरसम्बन्धित चिट्ठीपत्र ढुवानीका लागि नेपाल एयरलाइन्ससँग सम्झौता भएपनि विमान नआउँदा हुलाक सेवा नै प्रभावित बनेको छ ।

जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका प्रमुख लक्ष्मी आचार्य पराजुलीले भन्नुभयो, “एक महिना भयो, विमान आएको छैन, अन्य विमानमा पठाउँदा जोखिम हुन्छ ।” प्रमुख पराजुलीले भन्नुभयो, “विमान आएन भनेर पत्र नै नलैजाने भन्ने कुरै आएन, पत्र लैजाने विकल्प सडक यातायात हो ।”

जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा दर्ता भएका २८ केजी चिट्ठीपत्र केही दिनअगाडि मात्र गाडीमार्फत काठमाडौँ लगिएको छ । गत साउन २२ देखि भदौ १० गते सम्मको पत्र भदौ ११ गते गोश्वारा हुलाक कार्यालय काठमाडौँमा बुझाइएको छ । कार्यालयका हलकारालाई कर्मचारीले रकम सङ्कलन गरेर पठाइएको कार्यालयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here