जलविद्युत् र प्रसारण लाइनको समस्या समाधान गर्न सहमति

काठमाडौँँ, १८ जेठ- निर्माणाधीन जलविद्युत् आयोजना तथा प्रसारण लाइन आयोजनामा वन क्षेत्रको जग्गा प्रयोगका सम्बन्धमा लामो समयदेखि रहेको विवाद समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ र वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारी सहमत भएका छन् ।

ऊर्जा मन्त्रालयमा आज भएको छलफलमा वन मन्त्रालयले आयोजनाको महत्व र प्रभावकारिताका आधारमा आवश्यक निर्णय गर्ने र काम गर्ने वातावरण निर्माण गर्ने तथा विकास, निर्माण र समृद्धिका लागि समन्वय र सहकार्यका साथ अगाडि बढ्ने सहमति भयो ।

छलफलका क्रममा ऊर्जा मन्त्रालयका तर्फबाट वन मन्त्रालयबाट वातावरणीय प्रभाव अध्ययन मूल्यांकन र आयोजनास्थल तथा प्रसारण लाइन निर्माण क्षेत्रमा रुख कटान प्रक्रिया सहज बनाइदिन आग्रह गरिएको थियो । वन मन्त्रालयका तर्फबाट भने विकास निर्माणका काममा आफ्नातर्फबाट सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

वनमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो मन्त्रालय विकास विरोधी हुन नसक्ने गर्दै सडक, बिजुली र सिँचाइसहित पूर्वाधार निर्माण वर्तमान सरकारको प्राथमिक कार्यसूची भएको बताउनुभयो । ठूला विकास आयोजना निर्माण गर्दा वातावरणीय सन्तुलन कायम गर्न अपनाउनुपर्ने सजकताका बारेमा भने उदासीन बन्न नसकिने मन्त्री बस्नेतको भनाइ थियो ।

उहाँले विकासनिर्माणमा बाधक देखिएका कतिपय असान्दर्भिक र झन्झटिला प्रावधान हटाएर समय र परिस्थिति सुहाउँदो ऐन÷कानून र नीति निर्माण गर्ने तयारीमा वन मन्त्रालय रहेको जानकारी दिनुभयो । वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वातावरणीय प्रभाव अध्ययन मूल्यांकनका काममा आफ्नो मन्त्रालयले ढिलाइ नगर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here