काठमाडौँ, १७ जेठ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्वतारोहण प्रशिक्षक प्रतिष्ठानलाई पर्वतारोहण शिक्षाको विश्वविद्यालयका रुपमा विकास गरिने बताउनुभएको छ ।
टुरिज्म मिडिया क्लबले सगरमाथा आरोही दिकी शेर्पालाई सम्मान गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सर्वोच्च शिखर सगरमाथाले विश्वको ध्यान नेपालमा आकृष्ट गर्ने गरेको चर्चा गर्दै पर्वतारोहणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पाठ्यक्रम विकास गरी यसलाई व्यावसायिक रुपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री अधिकारीले यस पटक करीब ४०० जनाले सगरमाथा आरोहण गरेको बताउँदै त्यहाँको फोहर व्यवस्थापन गरी जलवायु परिवर्तनको प्रभावबाट हिमाललाई जोगाउनुपर्छ भन्नुभयो ।
प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले देश विकासका लागि महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास र उत्थानका लागि निजी क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता रामहरि खतिवडा, पर्यटन व्यवसायीद्वय लाक्पाफुटी शेर्पा, निमा शेर्पा, नेपाल महिला संघकी केन्द्रीय सदस्य पसी शेर्पालगायतले काठमाडौँमा भइरहेको सडकको अवस्था, प्रदूषण र अस्तव्यस्तताका कारण पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने हुँदा त्यसतर्फ संवेदनशील बन्न सरकारलाई आग्रह गर्नुभयो ।

