जनप्रतिनिधिले शपथग्रहण गर्ने कानुन बन्यो, यसरी गर्ने शपथ ग्रहण

काठमाडौं, ३ जेठ–स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको शपथग्रहणको बाटो खुलेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन नियमावली ०७३ संशोधन गरी शपथग्रहणको व्यवस्था गरेको हो । दोस्रो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पनि सोही कानुनअनुसार शपथ गर्ने भएका छन् ।

स्थानीय शासन ऐनको विधेयक संसद्मा विचाराधीन छ । ऐन पारित नभएकाले निर्वाचित प्रतिनिधिले तत्कालै जिम्मेवारी नपाउने अवस्था थियो । अब जनप्रतिनिधिले शपथग्रहणको कानुनी व्यवस्था गरिएकाले समस्या नरहेको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए ।

संशोधित नियमावली राजपत्रमा समेत प्रकाशित गरेर कार्यान्वयनमा ल्याइएको सचिव मैनालीले जानकारी दिए । निर्वाचन आयोगले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयसँग समेत समन्वय गरी स्थानीय तह निर्वाचन नियमावली संशोधन गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

निर्वाचित भएको तीन दिनभित्र शपथ
निर्वाचन आयोगका सचिव मैनालीका अनुसार संशोधित नियमावलीअनुसार नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षले निर्वाचन परिणाम प्राप्त भएको सामान्यतः तीन दिनभित्र सम्बन्धित निर्वाचन अधिकृतसँग पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ । नगरपालिकाका प्रमुुख तथा गाउँपालिकाका अध्यक्षहरूले शपथ लिएपछि वडा समितिका सदस्यहरूले प्रमुख तथा अध्यक्षसँग पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

गाउँ कार्यपालिका वा नगर कार्यपालिकाका महिला र दलित वा अल्पसंख्यकतर्फबाट निर्वाचित सदस्यले निर्वाचनसँग पद तथा गोपनीयताको शपथ लिनुपर्ने प्रावधान छ । तर, नगरपालिका र गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिद्वारा निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखले भने जिल्ला न्यायधीशबाट शपथग्रहण गराउने व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिका सदस्यले जिल्ला समन्वय समितिको प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ ।

३१ वैशाखमा भएको २ सय ८३ वटा स्थानीय तहमा १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचन नियमावलीलाई संशोधन गरी शपथग्रहणको व्यवस्था गरिएकाले अब जनप्रतिनिधिले निर्वाचित भएर आएलगत्तै काम गर्न सक्ने वताए ।  आजको नयाँ पत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here