कपिलवस्तु, १६ फागुन – विश्व सिमसार क्षेत्रमा सूचीकृत यहाँको जगदीशपुर ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
सदरमुकाम तौलिहवादेखि करिब ११ किमी उत्तर कपिलवस्तु नगरपालिका–९ मा पर्ने कृत्रिम रूपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो यो ताल बुद्धस्थल लुम्बिनी घुम्न आउने पर्यटकका लागि नयाँ गन्तव्य बनेको हो ।
पछिल्लो समय लुम्बीनी घुम्न आउने विदेशी पर्यटक उल्लेख्य रुपमा यो तालको समेत अवलोकन गर्न आउने हुनेले जगदीशपुर ताल पर्यटकीय गन्तव्य बन्दै गएको हो ।
तिलौराकोट हँुदै यस तालमा आउने पर्यटकका लागि तालमा रहेका चरा आकर्षण बनेका छन् । यसले गर्दा चरा अवलोकन गर्न आउने पर्यटक पनि बढेका हुन् । वन र वातावरणका विद्यार्थीदेखि अनुसन्धान गर्न पनि उत्तिकै आउने गरेका छन् । बेलायती र अस्ट्रेलियाली पर्यटकका लागि ताल मुख्य गन्तव्य बनेको छ ।
दैनिक आउने आन्तरिक र विदेशी पर्यटकको यकिन तथ्यांक नभए पनि पछिल्लो समय यो ताल चरा अवलोकनको गन्तव्य बन्दै गएको वरिष्ठ चराविद् हेमसागर बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “एकै ठाउँबाट नेपालमै सबैभन्दा धेरै चरा देख्न सकिने हुँदा सबैको आकर्षणमा पर्छ ।”
लामो समय लगाएर हिमशृंखला पार गरी आएका पानी चरा तालमा रमाउँछन्, आहार, विहार, जलक्रिडा गर्छन्, कतिपयले बच्चा पनि कोरल्छन् । उनीहरूसँगै रैथाने चरा पनि देख्न पाउने हुँदा पर्यटक रमाउने गरेको उहाँको भनाइ छ ।

