छानबिन टोलीबाट काम सुरु

चितवन, १५ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा गए राति मतपत्र च्यातिएका विषयमा निर्वाचन आयोगले आज गठन गरेको छानबिन टोलीले जिल्लामा आएर काम सुरु गरेको छ ।

आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमानसिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको छ ।

टोलीका संयोजक तिम्सिनाका अनुसार आज यहाँ आइपुगेसँगै जिल्ला निर्वाचन कार्यालयमा वस्तुस्थितिका बारेमा जानकारी लिइएको छ । टोलीले आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रअिज, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँग समेत छलफल गरेको छ ।

गए राति ११ः४४ बजे मतगणना हुँदै गर्दा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए । सो क्रममा प्रहरीले नेकपा(माओवादी केन्द्र)का दुई जनालाई नियन्त्रणमा लिएको छ । मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको नेकपा(एमाले)को आरोप छ । माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको विज्ञप्तिमार्फत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here