काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षामा छात्रको तुलनामा छात्राहरुको नतिजा कमजोर देखिएको छ । परीक्षामा नियमिततर्फ कुल चार लाख ४५ हजार ५ सय ६४ सहभागी भएका थिए । जस्मा छात्राहरु दुई लाख २३ हजार ८८२ (५०.२५ प्रतिशत) सहभागी भएका थिए भने छात्रहरु दुई लाख २१ हजार ६८२(४९ दशमलव ७५ प्रतिशत) सहभागी थिए ।
परीक्षामा छात्रा बढी सहभागी भएपनि उत्तिर्ण भने कम भएका छन् । गत शुक्रबार सार्वजनिक भएको परीक्षाफलमा स्तरीकृत अंक ( जीपीए ) ३.६५ देखि ४ सम्म औषत अति उत्तम क्षमताका कुल १२ हजार २८४ विद्यार्थीमध्ये छात्राहरु छात्रा २ दशमलव ३४ प्रतिशत अर्थात ५ हजार २ सय ५० मात्र रहेका छन् । छात्रहरु छात्र ३ दशमलव ७५ प्रतिशत अर्थात् ७ हजार ३ सय ३४ रहेका छन् । जीपीए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्मको क्षमताका ४२ हजार ४२७ विद्यार्थी मध्ये छात्र ११ दशमलव २४ अर्थात २४ ९११ रहेका छन् भने छात्रा ७ दशमलव ८२ प्रतिशत अर्थात १७५१६ रहेका छन् ।
जीपीए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्मको क्षमताका ५० हजार ६ सय ४६ विद्यार्थी मध्ये छात्राहरु २१ हजार १ सय ७४ रहेका छन् भने छात्रहरु २९ हजार ४७२ रहेका छन् । जीपीए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्मको क्षमता भएका ६१ हजार ९ सय ५५ विद्यार्थी मध्ये छात्रा २८ हजार २५६ रहेका छन् भने छात्रहरु ३३ हजार ६९९ रहेका छन् ।
जीपीए अन्र्तगत विज्ञान समूह अध्ययन गर्न २ जीपीए हुनुपर्छ भने व्यवस्थापन, शिक्षा, मानविकी संकाय अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । यसले गर्दा विज्ञान लगायत विषयमा अध्ययन गर्ने छात्रको तुलनामा छात्राको संख्या पनि कम हुने देखिन्छ ।

