काठमाडौं,२० जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लवका कार्यकर्ताहरुबाट सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रयास भएपछि तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।
आइतबार रातिको उक्त घटनापछि सोमबार दिउँसो गृहमन्त्री थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई गृहमन्त्रालय बोलाएर घटनाबारे ब्रिफिङ गर्नुभएको थियो ।
गृहमन्त्रालय स्रोतका अनुसार तीनवटै सुरक्षा निकायका प्रमुखले विप्लवका कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेपनि असफल भएको बताउनुभयो ।
गृहमन्त्री थापासँग प्रहरी प्रमुखको ब्रिफिङ लगत्तै उक्त स्थानमा थप प्रहरी टोली परिचालन गरिएको बताइएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जिल्लामा विप्लवका गतिविधि बढेकाले थप सुरक्षा सर्तकता अपनाइएको जानकारी दिनुभयो ।

