काठमाडौं,३ बैशाख । काठमाडौंका विभिन्न स्थानहरुमा चोरी, लुटपाट र पाकेटमारी गर्ने ३ जना भारतीय नागरिकलाई काठमाडौं महानगरपालिका २३ ईन्द्रचोकबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ११ ताहाचाल बस्ने भारत मोतिहारीका २० वर्षीय दिपकप्रसाद जैसवाल, काठमाडौं महानगरपालिका टेकु बस्ने भारत बैसालीका १९ वर्षीय बिजु साह र काठमाडौं कालीमाटी बस्ने भारत सितामडीका २१ वर्षीय राजकुमार राम रहेका छन् ।
विशेष सूचनाको आधारमा पक्राउ परेका उनीहरुले चोरी, लुटपाट र पाकेटमारी गरेका सामानहरु काठमाडौं टेकु स्थितमा रहेको चन्दन पोदारको कोठामा राखेको अवस्थामा क्यामरा ९ थान, मोबाईल १० थान, घडी ९ थान, मनीपर्स ७ थान, ब्याग १ थान, मिनी प्रोजेक्टर १ थान, नगद १ लाख ९८ हजार रुपैयाँ लगायतको सामान प्रहरीले बरामद गरेको छ ।
उनीहरुले प्राय मादक पदार्थ सेवन गरेका मानिसहरुलाई पिछा गर्ने र थप साथीलाई बोलाई कुटपिट गरी भएको सामानहरु खोस्ने गरेको खुल्न आएको छ । हालसम्म बिभिन्न मितिमा ५ वटा घटनामा निज पक्राउ अभियुक्तहरुको संलग्नता भएको पुष्टी भएको प्रहरीले जनाएको छ ।
चन्दन पोदार हाल फरार रहेकाले खोजी गर्नुका साथै पक्राउ अभियुक्तहरुलाई चोरी तथा डाँका मुद्धा अन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरवाट थप अनुसन्धान भइरहेको छ ।

