चैते धानका लागि किसानलाई अनुदान

कलैया, ९ वैशाख । नेपाललाई धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले चैते धानबालीमा अनुदान दिइने नीति लिएको छ ।

यसका लागि बारामा सरकारले तीन सय हेक्टर क्षेत्रफलमा बृहत् धान उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । बीमा कम्पनीको नियमानुसार खेती गरिएको धान खेतीको बीमा भएको सहभागी किसानलाई प्रोत्साहनस्वरुप प्रतिहेक्टर रु पाँच हजारका दरले अनुदानसमेत दिइने नीति सरकारले लिएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो ।

नेपाल धान उत्पादनमा आत्मनिर्भर नहुँदा प्रत्येक वर्ष विदेशबाट अर्बौं रुपैयाँ बराबरको धान–चामल आयात हुने गरेका छन् भने बारा जिल्ला धान उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्ने जिल्लामा रहेका छन् ।

यो वर्षमा बाराको कोल्हवी, नरही, वरियापुर, पकडिया, सिम्रौनगढ क्षेत्र, रामपुर्वा, सपही गाविसमा हर्दिनाथ १, चैत २, चैत ४ र स्थानीय कुरिया वगही जातको चैत धान कुल सात हजार ६ सय ७१ हेक्टर क्षेत्रफल जग्गामा चैते धान खेती गरिएको छ ।

भदैया, अगहनी धानको उत्पादकत्वभन्दा चैते धानको उत्पादकत्व बढी हुने भएकाले किसानलाई सिँचाइका लागि डिप बोरिङ गरेर पनि चैतेधान खेती गर्ने गरिएको छ ।

गत आवमा कुल सात हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा उन्नत र स्थानीय जातको चैत धान खेती गरिएको थियो । सो वर्ष जिल्लामा प्रतिहेक्टर ५ दशमलव ३५ मेट्रिक टनका दरले कुल ५१ हजार आठ सय ४१ दशमलव ५ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here