चिकित्सा विधेयक संशोधन गर्न सरकार तयार, केसी पक्षको नयाँ अडान

Nepal Doctors Strike

काठमाडौँ, ९ साउन- आमरण अनशनरत प्रा डा गोविन्द केसीको मागबमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनुपर्ने नयाँ माग राखेपछि आज तयारी गरिएको सहमति टरेको छ ।

राजनीतिक नेतृत्व र विज्ञको परामर्शमा हाल प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयकमा १० वर्षसम्म काठमाडौँ उपत्यकाका नयाँ मेडिकल कलेज स्थापना नगर्नेलगायत विषयमा प्राप्त सुझाव संशोधनमा राख्न सरकार लचिलो भए पनि केसी पक्षले नयाँ अडान राखेपछि आज सहमति हुन नसकेको हो । केसी पक्षले यसअघिको चिकित्सा शिक्षा अध्यादेशमा भएका विषय नछुटाई छोटो बाटाबाट पूरक विधेयक ल्याउन फरक माग गरेको थियो ।

सरकारका तर्फबाट प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा विज्ञको राजनीतिक परामर्शपछि अधिकारसहित सरकारी वार्ता टोली वार्तामा प्रस्तुत भएकामा केसी पक्षले नयाँ माग राखेका कारण सहमति हुन नसकेको हो ।

केदारभक्त माथेमा र गौरीबहादुर कार्की आयोगको प्रतिवेदनसमेतलाई ध्यानमा राखी केसीका मागबारे सहमति गर्न सरकारले लचकताका साथ वार्ता जारी राखेको छ ।

शीर्ष नेतसँगको परामर्शपछि मंगलबार भएको वार्ता सकारात्मक भएपछि आज पुनःवार्ता गरेर सहमति गर्ने भनिएकामा नयाँ मागका कारण सहमतिमा पुग्न नसकिएको सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले बताउनुभयो ।

आजको वार्तामा केसीका पक्षबाट आधिकारिक वार्ता टोलीका सदस्यका अतिरिक्त विवेकशील साझा पार्टी निकट अधिवक्ताले नयाँ विवाद सिर्जना गरेको पाइएको छ । सरकारी टोलीले कहाँ कति मेडिकल कलेज आवश्यक छ भन्नेबारे अध्ययन गरेर निर्णयमा पुगिने जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here