चिकनगुनियाको संक्रमण भेटियो

चितवन,२० असार– चितवनमा यस वर्ष एक महिलालाई ’चिकनगुनिया’ भएको पुष्टि भएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिकाकी एक महिलामा चिकेनगुनिया संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले जनाएका छन्।

’जेठ १९ गते बिरामी भई नारायणी सामुदायिक अस्पतालमा उपचार गर्न आएकी महिलाको रगत परीक्षण गर्दा चिकेनगुनिया संक्रमित भएको पुष्टि भएको थियो,’ झाले भने, ’चिकनगुनिया भएको पुष्टि भए पनि उपचार पूरा गरेर एक महिनापछि मात्रै जनस्वास्थ्य कार्यालयले उनीहरुलाई जानकारी दिएको हो।’

चितवनमा गत वर्ष भदौँ र मंसिरमा गरी दुई जनामा चिकनगुनिया फेला परेको थियो। यस वर्ष बर्खाको सुरुवातमै यो संक्रमण देखिएकाले उच्च सर्तकता अपनाइएको कार्यालयका कीट नियन्त्रक राम केसीले जनाए । चिकनगुनियाको संक्रमण फैलन नदिन कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको केसीले बताए ।

यो संक्रमण एडिस एजिप्टी र एडिस एल्वोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ । यी लामखुट्टले डेँगु भाइरससमेत सार्छन्। यी लामखुट्टे बिहान र अपराह्नपछि बढी सक्रिय हुन्छन्। चिकित्सकका अनुसार चिकनगुनिया भएका बिरामीलाई ज्वरो आउने, शरीरमा रातो–रातो बिमिराजस्ता डाबर आउने, बान्ता हुने, हाड तथा जोर्नी दुख्ने लगायतका लक्षण देखापर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here