चार श्रष्टालाई वाशु शशी साहित्य सम्मान तथा पुरस्कार

काठमाडौं,९ फागुनः वासु शशी स्मृति परिषद्ले २ वर्षको वाशु शशी साहित्य पुरस्कार तथा सम्मान ४ स्रष्टालाई प्रदान गर्ने निर्णय गरेको छ। २०७३ र २०७४ सालको सम्मान तथा पुरस्कार यसै साल प्रदान गर्ने भएको हो। परिषद्को निर्णय अनुसार कवि एवं आख्यानकार कृष्ण जोशीलाई ‘वाशु शशी साहित्य सम्मान- २०७३’ प्रदान गरिने भएको छ।

त्यस्तै, वरिष्ठ साहित्यकार रमा शर्मालाई ‘वासु शशी साहित्य सम्मान–२०७४’ प्रदान गरिने भएको हो। यस्तै, कवि एवं आख्यानकार गोविन्द गिरी प्रेरणालाई ‘वासु शशी साहित्य पुरस्कार–२०७३’ र साहित्यकार डा. सैलेन्दुप्रकाश नेपाललाई ‘वासु शशी साहित्य सम्मान–२०७४’ प्रदान गरिने भएको छ। परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले साहित्यकार जोशी, शर्मा, प्रेरणा र नेपाललाई सर्वसम्मतिले सम्मान र पुरस्कार दिने निणर्य गरेको परिषद्का सचिव प्रद्युम्न जोशीले जानकारी दिए।

सम्मान र पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ। उक्त सम्मान वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८२ औं जन्मजयन्तीको अवसरमा आगामी चैत्र १३ गते प्रदान गरिने परिषद्का सचिव प्रद्युम्न जोशीले जानकारी दिए। गतवर्षको वाशु शशी सम्मान प्रदान गर्न लागिएका कवि जोशी ५ दशकदेखि नेपाली साहित्य लेखनमा सक्रिय छन्।

उनका उपन्यास ‘मृत्यु दोहोरिन्छ म बाँचे’, ‘असम्मत सम्मत’, ‘काठमाडौं वरिपरि’, गीति–कवितासंग्रह ‘विसङ्गत स्वरहरू’, ‘पोखरी भित्रको शताब्दी’, ‘आगो समुन्द्रः पानी समुन्द्र’ लगायत कृति प्रकाशित छन्। त्यस्तै, वाशु शशी साहित्य पुरस्कार २०७३ प्रदान गरिन लागेका साहित्यकार गिरी ४ दशकदेखि नेपाली भाषा साहित्य लेखनमा सक्रिय छन्। उनले उपन्यास ‘सुतेको समुन्द्र’, ‘उत्खनन’, कथासंग्रह ‘अन्तराल’, कविता संग्रह ‘स्वप्नकथा जारी छ’, ‘अचानक एक दिन’ यात्रा संस्मरण, ‘फेरो’ ‘यात्रा अनन्त’ लगायतका साहित्यिक कृति प्रकाशित छन्। यस वर्षको वाशु शशी साहित्य पुरस्कार प्रदान गर्न लागिएका साहित्यकार नेपाल विगत ४ दशकदेखि नेपाली साहित्य लेखनमा सक्रिय छन्।

गीती काव्य ‘प्रेमपुजा’, ‘नमिता–सुनिता’, खण्डकाव्य ‘कल्पनाकुसुम’ उपन्यास ‘कामना’ लगायतका अनुसन्धानात्मक एवं साहित्यिक कृति प्रकाशित छन्। यसअघि, ‘वासु शशी स्मृति पुरस्कार’बाट कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु का“चुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा.विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन पुरस्कृत र वासु शशी स्मृति सम्मानबाट तीर्थराज वन्त, डा. मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’ प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शीव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल सम्मानित भइसकेका छन्।
Read more at: http://thahakhabar.com/news/32806

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here