चार जलविद्युत् आयोजनाले दुई वर्षभित्रै उत्पादन थाल्ने

काठमाडौं,१८ बैशाख–रसुवा र नुवाकोटमा निर्माणाधीन २ सय २८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले दुई वर्षभित्रै उत्पादन थाल्ने गरी काम अघि बढाएका छन् ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’, १ सय ११ मेगावाटको रसुवागढी, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चारै आयोजना विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भइरहेका हुन्। चिलिमे जलविद्युत् कम्पनीको प्रवद्र्धक प्राधिकरण हो ।

सरकार र प्राधिकरणको लगानी तथा चिनियाँ एक्जिम बैंकको ऋणमा बनिरहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ को निर्माण आगामी वर्षको वैशाखभित्र सक्ने लक्ष्य छ । आयोजनाले निर्माण गरिहेको त्रिशूली थ्री ‘ए’ –मातातीर्थ २ सय २० केभी प्रसारण लाइनका १ सय ४२ वटा टावरमध्ये अधिकांशको काम भइरहेको छ ।

५ वटा टावरको काम स्थानीयको अवरोधका कारण सुरु हुन नसकेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताउनुभयो ।  रसुवागढी आयोजनाको समग्र निर्माण प्रगति ६० प्रतिशत भएको आयोजनाले जनाएको छ । आयोजनाले २०७६ पुस १५ देखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमश: ७० र ६० प्रतिशत रहेको आयोजनाले जनाएको छ । सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मुख्य सिभिल संरचना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कमजोर रहेकाले काम प्रभावित भइरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here