काठमाडाैं, २७ माघ – ११ वर्षभन्दा बढी समय लगाएर निर्माण भएको चमेलिया जलविद्युत् आयोजना उद्घाटन गरिएको छ । दार्चुलाको शैल्य शिखर नगरपालिका -१ बलाचमा निर्माण भएको ३० मेगावाट चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको हो । यो प्रदेश नं. ७ को सबैभन्दा ठूलो आयोजना हो ।
आयोजनाले यस क्षेत्रको विद्युत विकासको ढोका खोलेको प्रधानमन्त्री देउवाले बताउनुभयो । यो क्षेत्रमा जलविद्युत्को धेरै सम्भावना भएको भन्दै प्रधानमन्त्री देउवाले ७ नं. प्रदेशमा मात्रै २० हजार मेगावाट विद्युत् उत्पादन हुने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्नुभयो । सुदूरपश्चिमको विकासमा जलविद्युत् विकासले सहयोग पुर्याउने भन्दै उनले यसैमा लगानी भित्र्याउन सके विद्युत् उत्पादनबाट प्रदेश समृद्ध बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो । जलविद्युतको विकासका लागि चमेलिया आयोजना उद्घाटनले विद्युत् उत्पादनमा कोसेढुङ्गा हुन सक्ने प्रधानमन्त्रीको भनाइ थियो ।
पुस २८ गते पहिलो युनिटबाट १५ मेगावाटको विद्युत् उत्पादन थालेर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो भने माघ १७ बाट अर्को युनिटको विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । सन् २००७ सालदेखि निर्माण कार्य थालेको आयोजनाल सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पश्चात् ३० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । आयोजनाको हालसम्मको लागत करिव १५ अर्ब अनुमान गरिएको छ ।
यस मध्ये विद्युत गृह तर्फको जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रोमेकानिकल कार्यका लागि करिव ७ अर्ब ८४ करोड एवं परामर्श सेवा तर्फ करिव ६० करोड गरि जम्मा ८ अर्ब ४४ करोड खर्च भएको छ । त्यस्तै १३१ किमि लम्बाईको बलाँच(अत्तरिया प्रशारण लाइन निर्माणमा २ अर्ब ५४ करोड खर्च भएको छ । त्यस्तै १३२-३३ केभी तथा ३३-११ केभी सवस्टेशन निर्माण र ३३-११ केभी प्रशारण लाईन निर्माणमा १९ करोड ४८ लाख खर्च भएको छ । सामाजिक विकास एवं वातावरण संरक्षण कार्यमा ५ करोड मूल्य समायोजना, विदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा ३ अर्ब गरी करिव ६ अर्ब १८ करोड ४८ लाख खर्च भएको छ ।

