काठमाडौँ, २५ माघ। चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथको मृत्यु भएको हो। चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन् ।
घाइते हुनेमा १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ छन् । बिहान एक्कसी चट्याङ लागेर सरस्वतीको घरमै सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते चारैजनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर केसीले बताए। घाइतेहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। चट्याङ लगेर सरस्वती नाथको घरमा एक दुहुनो गाई र एक हल गोरुसमेत मरेका छन् ।

