काठमाडौं,१० फागुन । मकवानपुरको भीमफेदीस्थित कारागार कार्यालयका जेलर घुस लिएको आरोपमा पक्राउ परेका छन् । भीमफेदी गाँउपालिका–६ स्थित कारागार कार्यालयका जेलर तथा शाखा अधिकृत मदन अधिकारी एकजना चौकीदारसँग ७५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले उक्त घुससहित पक्राउ गरेको हो ।
अधिकारीले चौकीदारसँग रकम नदिए अन्य कारागारमा सरूवा गरिदिने भन्दै घुस लिएका थिए । सूचना पाएपछि हेटौँडास्थित अख्तियारको टोलीले अधिकारीलाई ७५ हजार रुपैयाँ घुससहित उनको निवासबाटै पक्राउ गरी हिरासतमा लिएको काठमाडौँस्थित अख्तियारका प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले जानकारी दिनुभयो ।

