काठमाडौँ, १७ फागुन:अर्थमन्त्री डा युवराज खतिवडाले ग्रामीण जनताको जीवनस्तर उठाउन सहकारीले महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । बिहीबारदेखि राजधानीमा शुरु भएको साना किसानको दोस्रो राष्ट्रिय सम्मेलनको समापन समारोहमा उहाँले सहकारी संस्थालाई सामूहिक खेतीको अवधारणामा अघि बढाउनुपर्ने बताउनुभयो ।
कृषिमा रहेको परनिर्भरता सहकारीले अन्त्य गर्न सक्ने बताउँदै उहाँले कृषि, उत्पादन, प्रशोधन र बजारीकरणका लागि सहकारीले मुख्य भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । अर्थमन्त्री खतिवडाले बीमामार्फत सरकारले कृषिको जोखिम व्यवस्थापन गर्दै आएकाले यस क्षेत्रको दीर्घकालीन रणनीति मुताबिक कृषिको उत्पादन वृद्धिमा सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
‘साना किसानको समृद्धि : कृषिको रुपान्तरण र उद्यमशीलताको विकास’ भन्ने मूल नाराका साथ १६ गतेबाट शुरु भएको राष्ट्रिय सम्मेलनमा देशभरका एक हजार २०० किसानको सहभागिता थियो । २८ कार्यपत्र, प्रश्नउत्तर र किसानका धारणा प्रस्तुत भएको सो सम्मेलनमा काठमाडौँ घोषणपत्र जारी हुँदै छ ।
कार्यक्रमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड अन्य लघुवित्त संस्था, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान कृषि सहकारी संस्थाका जिल्ला सङ्घ, साना किसान कृषि सहकारी संस्था लिमिटेड र समान प्रकृतिका अन्य लघुवित्त संस्थाका पदाधिकारीको सहभागिता थियो ।
मुलुकमा ३४ हजार सहकारी दर्ता छन् । जसमध्ये करीब १० हजार विषयगत कृषि सहकारी संस्था रहेको तथ्याङ्क छ । पछिल्लोपटक साना किसान विकास कार्यक्रमभित्र लक्षित वर्गको सशक्तीकरणमार्फत किसानको नेतृत्वदायी भूमिका हुुनुपर्ने आवश्यकता महसुस हँुदै आएको छ ।

