काठमाडौं,१७ मंसिर– निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेत पक्राउ परेका छन्। प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले उनलाई भारतमा पक्राउ गरेको हो। पक्राउमा परेका बस्नेतलाई प्रहरीले आज काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए। घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सो समितिले प्रतिवेदन बुझाइसकेको छ।
प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, नागार्जुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ थिए।
को हुन् बस्नेत?
मुख्य योजनाकार बस्नेत कुनै समय कलंकी, बाफल र कालिमाटी क्षेत्रका ‘टोले गुन्डा’ थिए। तर, प्रहरीकै संरक्षणमा उनको दादागिरी बढ्दै गएको जानकारहरु बताउछन्। स्थानीय व्यवसायीहरुलाई उनी धम्काउदै पैसा उठाउँथे। पक्राउ परेपछि २/४ दिनमै छुट्थे। प्रहरी अधिकारीहरु नै उनलाई छुटाउन जान्थे।
पछि उनको ध्यान ठेक्कापट्टातर्फ गयो। ठेकदारहरुसँग कमिसन खान थाले। त्यही क्रममा उनको सहकार्य पुराना गुन्डा नाइके कुमार घैंटेसँग हुन थाल्यो। घैंटेसँग मिलेर उनले देशका सबैजसो ठुला ठेक्काको कमिसन लिन थालेका थिए।
त्यही क्रममा घैंटे २ वर्षअघि प्रहरी मुठभेडमा मारिएपछि बस्नेत प्रहरीसँग डराएर भागेका थिए। त्यसपछि उनको भेट बुटवलमा गुन्डागर्दी गरेर फरार भएका मनोज पुनसँग भयो। दुवै जना मिलेर गत वर्ष युवा संघका नेता दुर्गा तिवारीको हत्या गरी पैसा असुली सुरु गरे । तर, पैसामा कुरा नमिलेपछि बस्नेत छुट्टिएका थिए । पुन आफुभन्दा जुनियर भएको र उमात्र हाइलाइट भएको उनलाई मन परेको थिएन । त्यसपछि बस्नेतले अर्का फरार गुन्डा लोप्साङ लामासँग मिलेर छुट्टै अन्डरवर्ल्ड चलाउने योजना अघि बढाए।
सोही योजनाअनुसार उनीहरुले ठुला ठेकदारहरुलाई इन्टरनेट कलमार्फत धम्काउन थाले । त्यही क्रममा गत चैतमा काभ्रेली समूहका गुन्डा दावा लामामाथि गोली हाने । धम्काउने र असुल्नेक्रम जारी नै थियो।
त्यही क्रममा उनीहरु धम्काउन एक हाइप्रोफाइल व्यक्तिको खोजीमा थिए । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनले पैसा दिन मानिरहेका थिएनन्। ‘अध्यक्षकै हत्या गरेपछि अरुले डराएर पैसा दिने उनको आँकलन देखिन्छ,’ एक प्रहरी अधिकारी भन्छन्,‘त्यहीकारण हत्या गरे लगत्तै उनीहरुले जिम्मेवारी लिएका थिए ।’ हत्यालगत्तै व्यवसायीहरुलाई धम्काएर पैसा असुल्न थालेका थिए। प्रहरी अधिकारीका अनुसार उनीहरुको योजना नै दाउद इब्राहिमकै शैलीमा ‘अन्डरवर्ल्ड’ चलाएर पैसा असुल्नु हो ।

