काठमाडौं,१७ असार । त्रिभुवन विश्वविद्यालयका रजिस्टार डिल्लीराम उप्रेतीले स्नातकोत्तर तहको अर्थशास्त्रको एउटा विषयमा नम्बर थप्न लगाएका विद्यार्थीले अन्य विषयमापनि नम्बर थप्न लगाएको बताउनुभएको छ । सुरेन्द्र कोइरालाले ९ नम्बर ल्याए तापनि कर्मचारीको सहायतामा नम्बर थप्न सफल भएको बताउनुभयो ।
प्रतिनिधी सभाको संसदको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित त्रिवि पदाधिकारीको तर्फबाट धारणा राख्दै स्नातकोत्तर गरेका समाजशास्त्र र ग्रामीण विकास अन्तर्गत विषयमा पनि चलखेल गरेको उल्लेख गर्नुभयो । तीन वटा फ्याकल्टी अन्तर्गत झन्डै दर्जन विषयमा कोइरालाको नम्बर ’म्यानिपुलेट’ भएको उहाँको भनाई थियो ।
अख्तियारले छानबिन गरिरहेकाले सबै विषय खोल्न मिल्दैन उहाँले भन्नुभयोः तर आन्तरिक रिपोर्ट अनुसार इकोनोमिक्समा करिब ६ वटा विषयमा फेरबदल गरिएको छ । सोसोलोजी र रुलर डेभलपमेन्ट अन्तर्गतका पनि २ वा ३ विषयमा फेरबदल गरिएको बताउनुभयो ।
त्रिविले यस विषयमा आन्तरिक छानबिन गरी नम्बरमा चलखेल गर्ने कार्यमा संलग्न भएको भन्दै मानविकीको गोप्य शाखाको प्रमुख राम कर्मचार्यलाई निलम्बन गरिसकेको छ । समितिमा सदस्यहरुले गोल्डमेडलका लागि नम्बर थप्ने र किनबेच गर्ने घटनाबाट त्रिविको शिक्षा प्रणालीमाथि नै प्रश्न उठेको बताए ।
मिहिनेत गरेर ‘मेरिट लिस्ट’मा परेर पढ्ने विद्यार्थीलाईसमेत यसले असर र्पुयाएको भन्दै उनीहरुले यस्ता घटना पहिला पनि भएको होला भन्दै चिन्ता व्यक्त गरे । त्रिवि पदाधिकारीको मिलेमतोमा नम्बर थपेर गोल्डमेडल लिने घटनाका सम्बन्धमा ठोस कदम चाल्नुपर्नेमा उनीहरुको जोड थियो ।

