गृहमन्त्री थापा र ईयूका राजदूत भेटवार्ता

काठमाडौँ, २८ मङ्सिर:गृहमन्त्री रामबहादुर थापासँग युरोपेली सङ्घ (ईयू)का राजदूत भिरोनिका कोडीले आज गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपालमा विपद् व्यवस्थापनको क्षेत्रमा युरोपेली सङ्घको सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।

सो अवसरमा गृहमन्त्री थापाले भूकम्पलगायत विभिन्न समयमा नेपालमा भएका विपद्का घटनामा सङ्घले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री र दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै उहाँले त्यस्तो सामग्री र तालीममा सङ्घबाट आफूले सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

गृहमन्त्री थापाले नेपाल विपद्को जोखिममा रहेको बताउँदै विपद्का समयमा युवा, विद्यार्थी, नागरिक समाज, रेडक्रस लगायत सङ्घसंस्थाको सहयोगमा काम भइरहेको धारणा व्यक्त गर्नुभयो ।

राजदूत कोडीले सिमित स्रोत र साधनका बाबजुद नेपालले विपद् व्यवस्थापनमा खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनका लागि नेपाललाई विभिन्न किसिमका सहयोग गरिरहेको सङ्घले आगामी दिनमा थप सहयोग गर्न तयार रहेको बताउनुभयो ।

भेटमा नेपाल र युरोपेली सङ्घमा आबद्ध मुलुकबीचको सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा गर्न सक्ने सहयोगका विषयमा समेत छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here