गृहमन्त्री थापाले भनेः पौडेललाई प्रहरीले जवाफी कारबाहीमा मारेको हो !

काठमाडौं,९ असार । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको प्रष्ट पार्नुभएको छ । संसदको राज्यव्यवस्था समितिको आज बसेको बैठकमा मन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्नुभयो ।

राज्यव्यवस्था समितिको बैठकमा मन्त्री थापाले ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको बताउनुभयो ।

विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाको भनाइ थियो ।

त्यसबारे व्यापक जनगुनासो बढेपश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती, निगरानी लगायतका गतिविधि बढाउने क्रममा यही असार ५ गते पौडेल मारिएको उहाँको भनाई थियो । पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here