जनकपुर,१४ बैशाख । प्रदेश २ मा प्रदेश स्तरीय सीमा सुरक्षा बैठक जनकपुरधाममा आजपनि जारी छ । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरूप जारी बैठकमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्रा.डा. इन्द्रजित राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित आठ जिल्ला सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको छ ।
बैठकमा सीमा सुरक्षालाई मुख्य प्राथमिकतामा छलफल जारी छ ।
बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले आआफ्नो विभागको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुभएको छ । साथै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी, सहसचिव इन्दु घिमिरे लगायतले शान्ति सुरक्षा, विपद व्यवस्थापन र राष्ट्रिय परिचयपत्र कार्यक्रमसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
गोष्ठीमा प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायत विषयमा छलफल गरिएको थियो। गोष्ठीमा प्रदेश २ का प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गत आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ ।

