काठमाडौँ, १९ चैत- गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
महासंघको दोस्रो महाधिवेशनबाट अध्यक्षसहितको ३७ सदस्यीय कार्यसमिति आज निर्विरोध चयन गरिएको हो । यही चैत १७ गतेदेखि शुरु भएको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
यसैगरी महासचिवमा वंशलाल तामाङ, कोषध्यक्षमा दिलमाया बुढा मगर तथा सदस्यमा प्रेमकुमार राई, खिमबहादुर थापा, मानबहादुर डाँगी, भोलाप्रसाद गुप्तालगायत रहनुभएको महासंघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठले आगामी दिनमा स्थानीय तहको अधिकारका लागि केन्द्र सरकारसँग समन्वय गरेर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ४०० गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षको सहभागिता थियो ।
यसअघि महासंघमा घनश्याम खतिवडा अध्यक्ष रहनुभएको थियो । स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबाट मात्र कार्यसमिति चयन गर्ने गरिन्छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल पाँच वर्षको हुने छ ।

