ताप्लेजुङ, २९ पुस – ताप्लेजुङमा सार्वजनिक बिदामासमेत सरकारी सवारी-साधनको दुरुपयोग बढ्न थालेपछि ट्राफिक प्रहरीले त्यस्ता सवारी नियन्त्रणमा लिन थालेको छ ।
सरकारी सवारी बिनापास बिदामासमेत निजी प्रयोजन र अरुलाई नै कुदाउन दिन थालेपछि नियन्त्रणमा लिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्र्यालय ताप्लेजुङका इन्चार्ज टंक न्यौपानेले जानकारी दिनुभयो । आज बिनापास फक्ताङ्लुङ गाउँपालिकाका वडासचिव पवनकुमार देवले प्रयोग गर्ने मे१ब ३१३ नम्बरको सरकारी मोटरसाइकल अर्कै व्यक्तिले प्रयोग गरिरहेको अवस्थामा भेटिएको इन्चार्ज न्यौपानेले बताउनुभयो ।
सरकारी मोटरसाइकल जिल्ला नापी कार्यालयको भवन निर्माण गरिरहेका ठेकेदार दिवस लाबुङले चलाइरहेको अवस्थामा फेलापारिएको उहाँले जानकारी दिनुभयो । सो मोटरसाइकलको दुरुपयोग भइरहेको सूचना यसअघि पनि बारम्बार ट्राफिक प्रहरीमा आएको र आज पनि दुरुपयोग भएको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो मोटरसाइकल जिल्ला प्रहरीमा बुझाएको इन्चार्ज टंक न्यौपानेले जानकारी दिनुभयो ।
ताप्लेजुङमा सार्वजनिक बिदामासमेत केही सरकारी सवारी सिक्नमा प्रयोग हुने, विवाह, मलामी र पिकनिकमासमेत प्रयोग गर्ने गरेको सूचना आफूहरुकोमा आएकाले त्यस्ता सवारीको निगरानी ट्राफिक प्रहरीले गरिरहेको उहाँले बताउनुभयो । सरकारी सवारी सरकारी कामकाजका लागि सरकारी कार्यालय खुलेको समयमामात्र प्रयोग गर्न पाइन्छ ।
बिदाको समयमा सरकारी कामकै लागि चलाउनुपरे जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताउनुभयो ।

