गाउँगाउँमा मतदाता शिक्षाका लागि स्वयम्सेवक

बैतडी, २४ जेठ । असार १४ हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पुनः बैतडीमा मतदाता शिक्षाका लागि स्वयम्सेवक र मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँमा परिचालन गरिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, बैतडीका अनुसार तालिम प्राप्त गरेका १७४ जना स्वयम्सेवक र मतदाता शिक्षा कार्यकर्तालाई मतदाता शिक्षा सामग्रीसहित मतदाताको घरदैलोमा पठाइएको छ ।

“चार नगरपालिका र छ गाउँपालिकाका ८४ वटा वडाका मतदातालाई मतदाता शिक्षा प्रदान गर्न स्वयम्सेवक र मतदाता शिक्षा कार्यकर्तालाई घरदैलोमा पठाएका छौँ”– जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुयालले भन्नुभयो ।  मतदाता शिक्षाका लागि परिचालितलाई निर्वाचनबारे जानकारी दिनका लागि हाते पुस्तिका, स्रोत पुस्तिका, पर्चा–पम्प्लेट र नमुना मतपत्रसहित सम्बन्धित गाउँपालिका र नगरपालिकामा खटाइएको उहाँले बताउनुभयो ।

सम्बन्धित मतदान केन्द्र, मतदान स्थल र घरदैलोमा पुगेर परिचालितले मतदाता शिक्षा प्रदान गरिरहेका छन् । वडावडामा राखिएका १२० मतदानस्थलमा मतदाता शिक्षाका लागि जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकामा रहेका सामाजिक परिचालक, शिक्षकलाई स्वयम्सेवक र मतदान शिक्षा कार्यकर्ताका रुपमा निर्वाचन कार्यालयले तालिम प्रदान गरी सामग्रीसहित खटाएको हो ।

मतदाता शिक्षा कार्यकर्ता र स्वयम्सेवकले मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिने छन् ।

बदर मतको प्रतिशतमा कमी ल्याउनका लागि परिचालित स्वयम्सेवकलाई मतदातालाई सचेत गराउनमा बढी जोड दिइएको बताइएकोे छ । यसका साथै असार ११, १२ र १३ गते सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरिने समेत जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बैतडीमा एक लाख २४ हजार ८२४ जना मतदाता रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here