गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने-प्रधानमन्त्री

काठमाडौं,१५ जेठःप्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने भन्दै सुशासन र विकास आजको प्राथमिकता भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने जानकारी दिनुभयो ।

गणतन्त्रलाई संस्थागत गर्न, संविधानलाई कार्यान्वन गर्न र लोकतन्त्रलाई सुदृढ गर्न तीनवटै तहको निर्वाचन सम्पन्न गरिसकेको उल्लेख गर्दै  केन्द्रमा प्रगतिशिल, देशभक्त र जनपक्षीय सरकार र सातै प्रदेश तथा ७५३ स्थानीय तहमा जननिर्वाचित सरकार क्रियाशिल रहेको बताउनुभयो ।  ‘सुशासन र विकासको प्रतिबद्धतासहित संसदबाट सर्वसम्मतीले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

यसबाट राष्ट्रिय आकांक्षाको परिपूर्तिको दिशामा अघि बढ्न, राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति हामीलाई भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्रीले लोकतन्त्र नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर नेपालीले लडेर स्थापना गरेको जीवन पद्धति भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गणतन्त्र पनि नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ हो ।

दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु ।’  जनताका प्रतिनिधिले जनताका लागि शासन गर्न गणतन्त्र स्थापना भएको प्रधानमन्त्रीको  भनाई थियो ।

उहाँले भन्नुभयो, ‘कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईंहरुको चाहना यस घोषणबाट सम्बोधन गरिएको थियो । कुनै समय थियो, जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहीत छ । जनतालाई जनता हैन रैति ठानिन्थ्यो । देशको मूल कानूनलाई समेत कुनै वंश विशेषका उत्तराधिकारीको खल्तिको पर्चा जस्तो मानिएको थियो ।’ प्रधानमन्त्रीले गणतन्त्र दिवस जनताको दिवस र आम नेपालीको दिवस भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्र दिवस, जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो ।  एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन हो ।’

प्रधानमन्त्रीले विकास, समृद्धि, सुशासन एवं स्थिरता अबको नेपालको गन्तव्य भएको बताउँदै गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको कार्य मुख्य अभियान भएको उल्लेख  गर्नुभयो ।

news by ekantipur #http://bit.ly/2IWwwOS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here