काठमाडाैं, ११ पुस – काठमाडौं प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर-३ बाट पराजित एमाले उम्मेदवार भगवती चौधरीले सर्वोच्च अदालतमा मुद्दा दायर गरी मत परिणाम रद्द गर्न र पुनः मतगणना गर्न माग गर्नुभएको छ ।
गत मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधि सभासदस्य निर्वाचनमा वाम गठवन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी चौधरीले मतगणना परिणाम बदर गरि फेरि मतगणनाको माग गर्नुभएको हो । उहाँसँग चुनावी प्रतिस्पर्धामा रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदार विजयी बन्नुभएको थियो । सर्वोच्चको संवैधानिक इजलासमा दर्ता गराइएको निवेदनमा नेतृ चौधरीले गच्छादारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गर्नुभएको छ । चौधरीको निवेदनमा मतपत्रका सक्कली मुचुल्काहरु मतगणना स्थलभन्दा बाहिर झाडीमा भेटिएको उल्लेख गरिएको छ।
चौधरीको रिटमा गच्छदारको सपथ तत्काल रोकेर पुनः मतगणना गरिनुपर्ने मुख्य माग गरिएको छ । चौधरीको रिटमा गच्छदारका साथै निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी र निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभूषण घिमिरेलाई विपक्षी बनाइएको छ । ‘गच्छदारले निर्वाचन अधिकृत घिमिरे, प्रहरी प्रशासन सबै किनेर ठूलो धाँधली गरेका छन्’, उजुरीमा भनिएको छ, ‘सप्रमाण सर्वोच्च अदालतमा पेश गरेको छु ।’
सुनसरी ३ को अन्तिम परिणाम अनुसार गच्छदार ३८ हजार नौ सय ७२ मतसहित विजयी हुनुभएको थियो भने नेतृ चौधरीले ३८ हजार ६ सय ५१ मत पाउनुभएको थियो ।

