काठमाडौँ, २१ वैशाख– खोपको गुणस्तरीयता कायम राख्न विमानस्थलमा आवश्यक परिमाणको चिस्यान केन्द्रको व्यवस्थापनमा जोड दिइएको छ ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाले आज यहाँ आयोजना गरेको खोप व्यवस्थापन र कोल्ड चेनबारे सरोकार भएकासँगको कार्यक्रममा खोपलाई सुरक्षित राख्दै गुणस्तरीयता कायम राख्न भण्डारसम्म लैजाने प्रक्रिया छोटोछरितो बनाइनुपर्ने पनि बताइएको छ।
स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चूडामणि भण्डारीले नेपालका प्रमुख कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम भएको उल्लेख गर्दै बाहिरबाट खोप नेपाल आएपछिको व्यवस्थापनका लागि पहल गरिने बताउनुभयो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विमानस्थलमा खोप आएपछि प्रक्रिया लामो हुँदा त्यसको गुणस्तरीयता कायम राख्न चुनौती हुने बताउनुभयो ।
आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा रमेश खरेलले पहिले विमानस्थलबाटै भन्सार जाँच पास गरी रेफ्रिजेनेटर भ्यानबाट सीधै लैजाने व्यवस्था भए पनि केही वर्षदेखि प्रक्रिया लामो हुँदा समस्या भएको बताउँदै बढी मात्रामा खोप आए विमानस्थलमा आवश्यक परिमाणको चिस्यान केन्द्र नभएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

