काठमाडौं,१२ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो ।
आज संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढ्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो ।
‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै महानिरीक्षक खनालले मुलुकको भूसंवेदनशीलतालाई ध्यानमा राखेर पनि कतिपय विषयमा प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको बताउनुभयो ।

