सप्तरी, २६ साउन– सप्तरीको राजविराज नगरपालिकास्थित खाँडो खोलामा आएको बाढीका कारण करिब चार सय घर डुबानमा परेका छन् ।
तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका तिलाठी, सकरपुरा र वेलईका करिब ४ सय घरमा पानी पसेको हो । बाढी प्रभावित क्षेत्र राजविराज कुनौली सडकखण्ड समेत अवरुद्ध भएको छ ।
सप्तरीको खाँडो खोलामा आएको बाढीले राजविराज नगरपालिका–१५ स्थित देउरीभरुवाको पनि बाँध कटान गरेको छ । राजविराज नगरपालिका–१०, विरौल भन्ने स्थानमा बाढीले बिहानै बाँध भत्काएको छ ।
खोलाले बालुवा र माटोले बनाइएको बाँधलाई कटान गरेर वस्तीमा छिरेपछि स्थानीयहरु त्रसित भएका छन् । स्थानीय बासिन्दा अहिले सुरक्षित स्थानको खोजीमा लागेका छन् । बाँध भत्काएसँगै राजविराजको विरौल, डुम्रीलगायत ९ स्थान डुबान पर्ने खतरा छ । दुई दिनको लगातारको वर्षापछि आएको बाढीले बाँध कटान हुन थालेको हो ।
बाढी नियन्त्रणमा खटिएका एक स्थानीय बेपत्ता भएका छन् । देउरीभरुवामा बाँध कटान गर्न थालेपछि नियन्त्रणको प्रयासमा नेपाली सेनासँगै लागेका स्थानीय ६० वर्षीय डोमी यादव ढिस्कोमा पुरिएका हुन् । उनी खोलामा वेपत्ता रहेकोले सेना र स्थानीयले खोजी जारी राखेका छन् । तर, प्रभावकारी रुपमा खोजी नगरिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

