विराटनगर,१२ चैत । नेत्रविक्रम चन्द (विप्लव) समूहका कोशी व्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर)लाई प्रहरीले संगठित अपराध र हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–४ बयरबनबाट आइतबार साँझ पक्राउ परेका श्रेष्ठ र माधव गौतमलाई सुनसरीबाट संगठित अपराध तथा हातहतियार मुद्दामा म्याद थप गरिएको हो ।
विप्लवको आन्तरिक प्रशिक्षण आयोजना हुने सूचना पाएपछि पुगेको प्रहरीले श्रेष्ठ र गौतमलाई पक्राउ गरेको थियो । अन्य भने फरार भएका थिए ।
उनीहरुलाई पक्राउ गरिएको स्थान पूर्व–पश्चिम राजमार्गबाट सात किलोमिटर दक्षिणमा पर्छ । पक्राउ गरिएपछि दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको थियो ।
प्रहरीले उनीहरुका साथबाट नगद, उनीहरुले प्रयोग गर्ने मोबाइल, केही कागजपत्र र विभिन्न सिमकार्डहरु बरामद गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार करिब चार लाख रुपैयाँ रकम बरामद भएपनि प्रहरीले आधिकारीक पुष्टि भने गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले पक्राउ परेका दुई जनालाई म्याद थप गरिएको बताउनुभयो । यताः विप्लव समूहले मोरङको कानेपोखरी गाउँपालिका–४ नारायण चोक नजिकै रहेको पोखरीमा रहेको बस्तीमा पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षणमा अन्य नेता र कार्यकर्ताहरु पनि सहभागी हुन आएका थिए । तर आइतबार साँझ प्रहरीले श्रेष्ठ र गौतमलाई पक्राउ गरेपछि प्रशिक्षण कार्यक्रम बिथोलिएको छ ।

