काठमाडौँ, ९ साउन, इपियस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करीब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् ।
सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपियस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । इपियस शाखाको तथ्यांकअनुसार हालसम्म जम्मा ५२ हजार २४० जना पुरुष कामदार दक्षिण कोरिया पुगेका छन् ।
“दक्षिण कोरियाका लागि पुरुषको दाँजोमा महिलाको आवेदन नै कम पर्ने गरेको छ” इपियस शाखा प्रमुख कृष्णप्रसाद खनालले बताउनुभयो । खनालका अनुसार कोरियाका लागि यसवर्ष ८५ प्रतिशत पुरुष र १५ प्रतिशत मात्र महिलाको आवेदन परेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पहिलेभन्दा अहिले महिलाको आवेदन केही प्रतिशत बढेको हो ।” अन्य देशको दाँजोमा कोरियामा बढी परिश्रम गर्नुपर्ने भएकाले पनि महिलाले कम आवेदन दिएको हुनसक्ने उहाँको अनुमान छ । दक्षिण कोरियाले विशेषगरी उद्योग र कृषि कामका लागि नेपाली कामदार लिएर जाने गरेको छ ।
सर्वप्रथम विसं २००८ मा दक्षिण कोरियाले दुई हजार ८१४ जना नेपाली कामदार लगेको थियो । जसमा पुरुष दुई हजार ७३३ थिए भने महिला ८१ थिए । उक्त तथ्यांकअनुसार लगभग ९८ प्रतिशत पुरुष कोरिया पुगेका थिए भने दुई प्रतिशत मात्र पुगेका थिए ।

