के हुदै छ दिल्लीमा नेपाल–भारत छलफल

काठमाडौं,२४ असार ।  नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रिय विद्युत प्राधिकरणका अधिकारीबीच आज छलफल हुदै छ । भारतको नयाँ दिल्लीमा बस्ने बैठकमा अन्तरदेशीय प्रसारण लाइनको विषयमा मुख्य प्राथमिकतामा राखिएको उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका प्रवक्ता प्रविण राज अर्यालले जानकारी दिनुभयो ।

छलफलका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपाली प्राविधिकहरुको टोली हिजै भारत पुगेको छ । नेपाल र भारतबीच विद्युत आदानप्रदानका लागि प्रस्तावित ४ सय केभी क्षमताको न्यू बुटवल गोरखपुर प्रसारण लाइन निर्माणको मोडालिटीको अझै टुंगो लाग्न सकेको छैन ।

गत वर्षको माघमा पोखरामा बसेको बैठकमा मोडालिटी ३ महिनाभित्र टुंगो लगाउने भनिएपनि छलफल अहिलेसम्म जारी  छ । आजको बैठकमा पनि गत माघको बैठकले दिएको म्यान्डेट अनुसार नै दुई देशका प्राधिकरणले छलफल अघि बढाउने अर्यालले जानकारी दिनुभयो ।

दुई देशबीचको उर्जा सचिव र सहसचिवस्तरीय समितीको आगामी बैठकको मिति भने तय भएको छैन । अहिलेको बैठक प्राधिकरणका अधिकारीबीचको मात्रै भएको र सो बैठकले सचिवस्तरीय बैठकका लागि म्यान्डेड प्रस्तुत गर्ने अर्यालले बताउनुभयो । आजको बैठकमा टनकपुर सबस्टेशनको जडित क्षमता वृद्धि सम्बन्धमा पनि छलफल हुनेछ । सबस्टेसनमा १ सय एमभीए क्षमताको टान्सफ्रमर जडान गरी क्षमता वृद्धि गर्ने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here