काठमाडौं,१९ असार । गुठी तथा सरकारी जग्गाको छानबिनका लागि गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अन्तर्गतको समितिको म्याद दुई महिना थप गरिएको छ । असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्दै सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले छानविनको क्रम नरोकिएकाले समय थप गरेको बताउनुभयो ।
मन्त्रीपरिषदले इन्जिनियरिङ्ग परिषद्को ऐनमा थप गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । वागमती नदीको तटीय क्षेत्र सुधारका लागि एसियाली विकास बैंकसँग सहुलियत ऋण लिन अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा आठ सदस्यीय वार्ता समिति गठन गरिएको छ । भने विभिन्न जर्मन सरकारको तर्फबाट हुने आर्थिक सहयोग लिन अर्थमन्त्रालयका सहसचिवलाई अख्तियारी दिइएको छ ।
अवकास प्राप्त कर्मकारी र अन्यलाई तलब, भत्ताका लागि तीन करोड ८२ लाख रुपैंया नेपाल औषधि लिमिटेडलाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय गरेको छ ।
मन्त्रीपरिषदले सशस्त्र द्वन्द्वमा घाइते भई अपागता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन (प्रथम संशोधन) कार्यविधि २०७६ तथा माओवादी सेनाका घाइते अपाङ्ग लडाकुहरू, सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलनका घाइते अपाङ्गहरूका लागि पुनर्स्थापना र हेरचाह (प्रथम संशोधन) निर्देशिका, २०७६ स्वीकृत गरिएको छ । क्यासिनो (चौथो संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

