काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले केन्यामाथि रोमाञ्चक जित हात पारेको छ। नेपालले सोमबार भएको खेलमा केन्यालाई ३ विकेटले पराजित गरेको हो।
१ सय ७८ रनको लक्ष्य नेपाल अन्तिम बलमा ७ विकेटको क्षतिमा पूरा गर्यो।
डिभिजन–२ मा नेपालले तेस्रो जित हात पारेको हो। यसअघि नेपालले पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको नेपालले तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गरेको थियो। जितसँगै नेपालको शीर्ष २ मा पर्ने सम्भावना बढेको छ।
नेपालको जितमा पाँचौ विकेटका लागि आरिफ शेख र रोहित कुमार पौडेलको साझेदारी महत्वपूर्ण रह्यो। शेख र पौडेलबीच छैटौ विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। दुईले २४.५ ओभर खेलेका थिए। आरिफ ४२ रनमा आउट भए। उनले ८२ बल खेल्दा २ चौका प्रहार गरे।
यस्तै रोहित कुमार पौडेलले ४७ रनमा रनआउट भए। अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट हुँदा नेपाल दबाबमा परेको थियो। नेपाललाई अन्तिम बलमा जितका लागि २ रन चाहिएको सोमपाल कामीले २ रन नै लिएपछि नेपालले रोमाञ्चक जित हात पारेको हो। सोमपाल ५ रनमा नटआउट भए।
कप्तान पारस खड्काले चौथो विकेटका लागि शरद भेषावकरसँग ५५ रनको साझेदारी गरेका थिए। पारस ४२ रन बनाएर आउट भए। उनले ४४ बल खेल्दा ३ चौका र २ छक्का प्रहार गरे। यद्यपी शरद भेषावकर फेरि सस्तैमा आउट भए। शरद १९ रनमा बनाएर आउट भए। ५७ बल खेलेका शरदले १ चौका प्रहार गरे।
नेपालको सुरुवात भने खराब रह्यो। खेलमा डेब्यु गरेका अनिलकुमार साह दोस्रो ओभरमा शून्य रनमा आउट भए। यसअघिका तीन खेलमा मौका नपाएका अनिललाई विकेटकिपर ब्याट्सम्यान दिलीप नाथको स्थानमा खेलाइएको हो। ओपनर ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भएका छन्। उनले १४ बल खेल्दा १ चौका हिर्काए। दीपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट भए।
बलिङतर्फ केन्याका इम्यानुयल बुन्डीले सुरुवाती ३ विकेट लिँदा नेपाल अप्ठ्यारोमा परेको थियो। नेहेमोन ओडिम्बो र नेल्सन ओडिम्बोले १–१ विकेट लिए।
यसअघि नामिबियाको एन्डरर्स मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन जोड्यो।
केन्याका लागि ओपनरद्वय इरफान करिमले ४२ तथा एलेक्स ओबाडाले ४१ रनको योगदान दिए।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १–१ विकेट हात पारे।
सन्दीपले लिस्ट ‘ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका हुन्। १० ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिँदा ५ मेडन राखे। यसअघि उनको लिस्ट ‘ए’ करिअरमा सर्वाधिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो। यो प्रदर्शन यही प्रतियोगिताको पहिलो खेलमा नामिबिया विरुद्ध गरेका थिए। यो प्रदर्शन लिस्ट ‘ए’को खेलमा नेपाली बलरकै अहिलेसम्मकै उत्कृष्ट हो।
केन्या विरुद्ध नेपाललाई महत्वपूर्ण विकेट दिलाउने क्रममा सन्दीपले १७ ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले केन्याका ओपनिङ ब्याट्सम्यान एलेक्स ओबाडालाई आउट गरे। सन्दीपको विकेटसँगै नेपालले केन्याको ६५ रनको प्रारम्भिक साझेदारी तोड्न सफल भएको थियो। ओबाडालाई सन्दीपले ४१ रन बनाएर खेलिरहँदा बोल्ड गरेका थिए।
यस्तै, सन्दीपले धिरेन गोन्डारियालाई ४ रन बनाएर खेलिरहँदा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
सन्दीपले ३४ ओभरमा लगातार २ विकेट लिए। उनले पहिलो बलमा केन्याका कप्तान राखेप पटेललाई १ रनमा आउट गरे। दोस्रो बलमा सन्दीपले रुसव पटेललाई शून्य रनमा एलबिडब्लूको धरापमा पारे। तेस्रो बलमा केन्याका नेल्सन ओडिम्बोले डट बल खेलेपछि सन्दीप ह्याट्रिक गर्न चुके।
आफ्नो स्पेलको अन्तिम बलमा सन्दीपले पाँचौं विकेट हात पारे। उनले ओडियाम्बोलाई ७ रनमा विकेटकिपर ज्ञानेन्द्र मल्लबाट स्टम्पिङ गराए।
बसन्तले केन्याका ओपनर इरफान करिमलाई विकेटकिपर ज्ञानेन्द्रबाट क्याच गराए। करिमले सय बल खेलेर ४२ रन जोडे। उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्। सोमपाल कामीले कोलिन ओवुयालाई १० रनमा बोल्ड गरे। शरदले गुरदिप सिंहलाई २ रनमा बोल्ड गरे।
डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।

