भरतपुर, ६ माघ। प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि र पर्यटनको क्षेत्रबाट समृद्धिको लडाइँ लड्नुपर्ने बताउनुभएको छ। चितवनको खैरहनीमा जारी छैठौँ खिचरा महोत्सवमा भएको कृषि प्रदर्शनीमा उत्कृष्ट भएका कृषकलाई पुरस्कार वितरण कार्यक्रममा मन्त्री लामाले कृषि क्षेत्रबाट उत्पादनमुखी बन्नुपर्ने बताउनुभयो।
मन्त्री लामाले नेपालमा कृषि र पर्यटनको माध्यमबाट रोजगारी र उत्पादनमुखी काम गरेर आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। “चितवनको पहाडी क्षेत्रमा धेरै किसिमको फलफूल उत्पादन गर्न सकिन्छ”, मन्त्री लामाले भन्नुभयो, “त्यसतर्फ कृषि मन्त्रालयको ध्यान केन्द्रित भएको छ।” उहाँले पहाडी क्षेत्रको माटो परीक्षण गरी माटो अनुकूल खेती गर्न किसानलाई प्रोत्साहन गरिने बताउनुभयो।
उहाँले खैरहनीमा थारू जातिको सङ्ग्रहालय निर्माणका लागि प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन गरिएको र थप रकम आवश्यक परे प्रदेशबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो।

