कृषि क्षेत्र रोजगारमुखी र व्यावसायिक बनाउन चुनौती:राष्ट्रपति

दमक, १८ पुस:राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यावसायिक उद्योगका रुपमा विकास गर्न देशको मुख्य चुनौती भएको औँल्याउनुभएको छ ।

झापाको गौरादह नगरपालिका– ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्वारा प्रवद्र्धित नमूना सहकारी खेती एवं साना किसान विकास अभियानका गतिविधिको अवलोकन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको ठूलो हिस्सा मानिएको कृषि क्षेत्र अझै निर्वाहमुखीमा सीमित रहनु चिन्ताजनक भएकाले कृषि क्षेत्रलाई आधुनिकीरण गरेर व्यावसायीकरण गर्न ध्यान दिनुपर्ने औँल्याउनुभयो ।

गरीबी निवारणमा सहकारीलाई उपयोगी बनाउन सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारी अभियान देशकै नमूना भएको बताउँदै उहाँले भन्नुभयो, “सहकारीमार्फत मुलुकको समृद्धि यात्रालाई टेवा दिन सबै क्षेत्र जुट्नुपर्छ ।” उहाँले महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सङ्गठित महिलाको सहकारी अभियानका गतिविधि सबैका लागि उदाहरणीय भएको उहाँको भनाइ थियो ।

त्यस अवसरमा गौरादह नगरपालिकाका तर्फबाट राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिएको थियो । नगर प्रमुख रोहितकुमार शाहले अभिनन्दनपत्र हस्तान्तरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here