काठमाडौँ, ७ पुस : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट काङ्ग्रेसले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।
किसुनजी अध्ययन केन्द्रले काङ्ग्रेस नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘मैले चिनेको किसुनजी’ विषयक कार्यक्रममा उहाँले नेता भट्टराई आफ्नो आदर्शबाट कहिल्यै विचलित नहुने नेता हुनुहुन्थ्यो भन्नुभयो ।
“सत्याग्रही नेता किसुनजीले राजनीतिमा विशिष्ट स्थान बनाउनुभएको थियो,”उहाँले भन्नुभयो । नेता पौडेलले बहुदलको स्थापनामा किसुनजीको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रधानमन्त्री हुँदा पनि सत्ताको दुरुपयोग नगर्ने र लपनछपन नभएको व्यक्ति भट्टराई भएको बताउनुभयो ।
किसुनजी पार्टी सभापति हुँदा दुःख गरेका व्यक्तिलाई वरिष्ठता हेरेर जिम्मेजारी दिने गरेको उहाँको भनाइ थियो । काङ्ग्रेस नेता प्रदीप गिरीले पार्टीलाई शीरमा राखेर राजनीतिक गर्ने नेता स्व भट्टराई भएको बताउनुभयो । “अहिले म भइन भने पार्टी चल्दैन भन्ने प्रवृत्ति काङ्ग्रेसका नेताहरुमा छ, किसुनजी पार्टी भएन भने मेरो अस्तित्व छैन भन्ने व्यक्ति हुनुहुन्थ्यो,”उहाँले भन्नुभयो ।
विश्वेश्वरप्रसाद कोइरालाको ऐतिहासिक रुपमा मुलुकभर चर्चा भएपनि किसुनजी असल र इमान्दार नेता भएको उहाँले बताउनुभयो ।

