काठमाडौं,९ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ ।
नयाँ कार्यसमितिका लागि आज बिहान हुने भनेको मतदान भने केहि ढिलो सुरुहुने निर्वाचन समितिले जनाएको छ ।
उम्मेद्वारको नाममा दावी विरोध तथा नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने काम बाँकी नै रहेको तथा उम्मेदारको नाम र क्रमांक मिलाउन बाँकी नै रहेकाले आज दिउँसो मात्र मतदान सुरुहुने निर्वाचन समितिले जानकारी दिएको छ ।
अध्यक्षमा कमल थापा र प्रदीप विक्रम राणाले उम्मेदवारी दिनुभएको छ, भने यस्तै ९८ जना केन्द्रीय सदस्यका लागि ३ सय ६३ जनाले उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार ३ हजार २ सय ८७ मतदाता छन् । मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिने भएकाले एकपटकमा ५४ जनाले मतदान गर्न सक्नेछन् ।
यसैबिच उम्मेद्वारको क्रमांकका लागि भने गोलाप्रथा गरिने भएको छ । जुन उम्मेद्वारले जति नम्बरको गोला तान्छ उसको नाम त्यति नै नम्बरमा रहने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
राप्रपाको नयाँ विधानअनुसार १ सय ६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत अर्थात ९८ पदका लागि चुनाव हुने छ भने बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
महिलातर्फ ३३ सिट रहेकोमा खुला १६ तथा आरक्षणमा १७ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुस्लिम एक, कर्णाली र पिछडिएका क्षेत्रबाट दुई र थारु समुदायबाट एकजना निर्वा्चित हुनेछन् ।
पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, खुलामा ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट सात, आदिवासी जनजाति नौ, उत्पीडित दुई, मुस्लिम दुई, कर्णाली र पिछडिएका क्षेत्रबाट दुई, थारु समुदायबाट एक र प्रवासबाट दुईजना निर्वाचित हुनेछन् ।
पार्टीका पूर्वअध्यक्षलाई मानार्थ केन्द्रीय सदस्य बनाइनेछ जसअनुसार पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्द, पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई मानार्थ केन्द्रीय सदस्य बनाइने भएको छ ।

