काठमाडौं,१७ साउनःसगरमाथा सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट गुणस्तर नभएको भन्दै जिल्ला प्रशासन कार्यालय, बर्दियाले कालोबजार तथा केही सामाजिक अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ ।
गुलरिया—६ स्थित विजय टेडर्सबाट सगरमाथा सिमेन्ट नेपाल गुणस्तर तथा तौल विभाग, बालाजु काठमाण्डौबाट गुणस्तर नभएको प्रमाणित भएको प्रतिवेदन प्राप्त भएपछि कारवाही प्रक्रिया अघि बढाएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बताउनुभयो ।
नेपाल सरकारबाट गुणस्तर चिन्ह प्राप्त गरेको दाङबाट उत्पादित सगरमाथा सिमेन्ट ल्याब रिर्पोटबाट गुणस्तर नभएको प्रमाणित भएपछि कालो बजार तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बताउनुभयो । स्थानीय प्रशासनले कारवाही प्रक्रिया नटुङ्गीदा सम्म सगरमाथा सिमेन्ट उत्पादनमा रोक लगाउन दाङ्ग प्रशासनलाई पत्रचार गरिएको छ ।
उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीले सिमेन्टमा गुणस्तरहिन भएको जानकारी आएकोले वास्तविकता बुझ्न बर्दिया जाने जवाफ दिनुभएको छ ।

