कार्यव्यवस्था परामर्श समिति र नियमावली मस्यौदा समिति गठन

विराटनगर,१४ फागुनः सोमबार बसेको प्रदेश १ को पाँचौ प्रदेशसभा बैठकले कार्यव्यवस्था परामर्श समिति र नियमावली मस्यौदा समिति गठन गरेको छ ।

प्रदेशसभाको अन्तरिम कार्यविधिको दफा १५ बमोजीम बैठकमा पेश हुने विषयहरुको प्राथमिकता, समयावधिको निर्धारण गर्दै बैठकलाई सुव्यवस्ति ढंगवाट सञ्चालन गर्न सभामुखको अध्यक्षतामा उपसभामुख उपाध्यक्ष र प्रदेशको कानुन सम्बन्धी विषय हेर्ने मन्त्री पदने सदस्य रहने गरी गठन भएको कार्यव्यवस्था परामर्श समिति केदार कार्की, बुद्धिकुमार राजभण्डारी, जसमाया जगमेर, मोहनबहादुर खड्का, जयराम यादव, इन्दिरा राई, इन्द्रमणी पराजुली र विष्णु तुम्बाहाम्फे रहेका छन् ।
यसैगरी संविधान २०७४ को धारा १९४ बमोजिम प्रदेशसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरुको गठन लगाएतका नियम बनाउन प्रदेशसभा नियमावली २०७४ समेतको मस्यौदा गरी लागू गर्नु ११ सदस्य नियमावली मस्यौदा समिति गठन गरीएको छ ।
समितिमा प्रदेशसभाका सदस्यहरु लीलावल्लभ अधिकारी, उत्तमकुमार बस्नेत, एकराज कार्की, सावित्रा रेग्मी, सुयर्मा राज राई, शान्तादेवी पौडेल, झलक बहादुर मगर, रामकुमार राई, रामचन्द्र लिम्बु, इन्दिरा राई र विष्णु तुम्बाहाम्फे सदस्य रहेका छन् । बैठकमा सदस्य बुद्धिकुमार राजभण्डारीले नियमावली मस्यौदा समिति गठन गरीयोस भनी प्रस्ताव गरेका थिए भने अर्की सदस्य ज्योती सुब्बाले समर्थन गरेकी थिइन् ।
सोमबारको बैठकमा पहिलोपटक मुख्यमन्त्री शेरधन राईले बोलेका छन् । सभामुखले समय दिएपछि करीव २५ मिनेट मुख्य मन्त्री राईले सरकार गठन भएपछिका कामकारवाही सदनलाई जानकारी गराएका हुन् । प्रदेश सरकारले भ्रष्टाचार र दण्डहीनता अन्त्यका लागि कुनै सम्झौता नगर्ने बताए । आफ्नो मन्त्रीमण्डल भष्टाचार र दण्डहीनता अन्त्यका लागि शून्य सहनशीलताको नीति लिएर अघि बढेको राईको भनाइ थियो ।
अहिले सरकार समेत ऐन कानुनहरु निर्माणमा लागेको राईले बताए । उनले ठूला आयोजना अनुगमन तथा गुणस्तर कायममा पनि उत्तिकै ध्यान दिने मुख्यमन्त्री राईको भनाइ थियो ।
मुख्यमन्त्री राईले सरकार सय दिनमा गर्ने कामका योजना तयार पारिरहेको भन्दै त्यसलाई चाँडै सार्वजनिक गर्ने समेत बताए । प्रदेशसभाको बैठक चैत्र ७ गते सम्मका लागि स्थगन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here