काठमाडौं,२० चैत । बुटवलमा हत्या गरिएका लमजुङ मोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कास्कीका ६८ वर्षीय बलबहादुर सुनारलाई पक्राउ गरेको छ ।
पाण्डेको शव चैत १ गते साँझ बुटवल–११ बुद्धनगर, मजुवा र बिनापानेबीचको तिनाउ नदीको बगरमा भेटिएको थियो ।
मृतक पाण्डे र हत्यामा संलग्न रहेका सुनारको बन्दीगृहमा रहँदा चिनजान भएको प्रहरीले बताएको छ । उनीहरुले बन्दीगृहमा लामो समयसँगै बिताएका थिए ।
बन्दीगृहमा रहेकै बेला पाँच हजार रुपैयाँको विषयमा उनीहरुबीच भएको विवाद नै बन्दीगृहबाट बाहिर निस्किएपछिको हत्याको कारण बनेको रुपन्देही प्रहरीले बताएको छ । प्रहरीका अनुसार सुनारले कारागारबाट निस्किएपछि हरिबहादुरलाई मार्ने योजना बनाएका थिए ।

