काठमाडौँ, २० साउन: सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशको हैसियतले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि काम शुरु गर्नुभएको छ ।
संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम न्यायाधीश मिश्रले कामु प्रधानन्यायाधीशकोे हैसियतले आज मुद्दाको पेशी तोकेर काम शुरु गर्नुभएको हो ।
जोशीलाई प्रधानन्यायाधीश हुन समितिले अयोग्य ठहर गरेपछि उहाँ आजदेखि छुट्टीमा बस्नुभएकाले मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा काम शुरु गर्नुभएको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।
न्याय सम्पादनका क्रममा अदालतमा बसेर स्वतन्त्र, सक्षम र विकृतिहीन न्यायपालिका बनाउन उचित भूमिका निर्वाह गर्न नसकेको भन्ने प्रश्न उठेपछि जोशीलाई न्यायाधीशका रुपमा काम गर्न पनि नैतिक संकट परेको छ ।
संवैधानिक संकट छैन ः कानूनविद्
विशेष समितिले कामु प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीश बन्न अयोग्य ठहर गरेपछि केही कानून व्यवसायीले संवैधानिक संकट उत्पन्न हुने आशंका व्यक्त गरेका छन् । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर ‘समितिले न्यायालयमाथि ठाडो हस्तक्षेप गरेको हुँदा’ न्यायालयमा संवैधानिक संकट उत्पन्न हुन सक्ने उल्लेख गरेको थियोे ।

