काभ्रेपलाञ्चोकको हरेक वडामा विपद् व्यवस्थापन समिति बनाइँदै

काभ्रेपलाञ्चोक, १२ माघ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि आवश्यक रणनीति तर्जुमा गर्ने उद्देश्यले स्थानीय तह अहिले विपद् व्यवस्थापन समितिको निर्माणमा जुटेका छन् ।

यसका लागि वडास्तरदेखिनै विपद् व्यवस्थापन समिति बनाउन थालिएको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले बताउनुभयो । यसका लागि छुट्टै कोष निर्माण गरेको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

पाँचखाल नगरपालिकाले विपद् व्यवस्थापन कोष बनाएर ३३ लाख जम्मा गरेको छ । यस क्षेत्रमा आगलागी प्रमुख चुनौती भएकाले नपाले चालू आर्थिक वर्षमा वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरीद गर्ने निर्णय गरिसकेको छ ।

धुलिखेल नपाका सबै वडामा विपद् व्यवस्थापन समिति बनिसकेका छन् । आगलागी प्रमुख समस्या बनेको नमोबुद्ध नपामा हाललाई निश्चित बजेट छुट्याइ विपद् व्यवस्थापन समिति बनाइएको नगरप्रमुख टङ्कप्रसाद शर्माले जानकारी दिनुभयो ।

खानीखोला गाउँपालिकाले १० लाख र रोशी गाउँपालिकाले २४ लाख बजेट विनियोजन गरी पालिकास्तरीय विपद् व्यवस्थापन समिति बनाएका छन् । खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले आफूहरु वडास्तरमा विपद् व्यवस्थापन समिति बनाउने तयारीमा जुटेको बताउनुभयो ।

रोशी गाउँपालिकाले प्राकृतिक विपद्मा परेका स्थानीयवासीलाई प्रतिव्यक्ति १० हजार राहत दिइने नीति बनाएको छ । रोशीमा हिउँदाको मौसममा छ र खानीखोलामा पाँच आगलागीका घटना भइसकेका छन् ।

चौँरीदेउराली गाउँपालिकामा पनि पाँच लाख विनियोजन गरी पालिकास्तरीय विपद् व्यवस्थापन समिति बनाइएको छ । भौगोलिक विकटताका कारण दमकल नहुनु र पानीपोखरी नहुँदा निकै कठिनाइ भोग्नुपरेको अध्यक्ष दिननाथ गौतमले बताउनुभयो ।

भुम्लु र बेथानचोक गाउँपालिकाले पनि पालिकास्तरीय समिति बनाई वडामा जान कार्यविधि निर्माण गरिरहेका छन् । पुरानै विपद् व्यवस्थापन समितिमार्फत काम गर्दै आएको बनेपा नपाले भने नयाँ समिति बनाउन छलफल भइरहेको जनाएको छ । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here