काठमाडौँको मेयरमा ‘हाइप्रोफाइल’ नेताको चर्चा, को–को छन् हेर्नुहोस् !

photo to ekantipur

काठमाडौँ, चैत २४ गते ।  देशको सबैभन्दा धेरै मतदाता भएको काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार चयन सर्वाधिक चासोको विषय बनेको छ ।
दलहरूले राजधानी तथा देशको प्रमुख प्रशासनिक केन्द्रसमेत रहेको काठमाडौँ महानगरपालिकामा मेयरका प्रतिस्पर्धी टुङ्ग्याई भने सकेका छैनन् ।  यद्यपि पार्टीको आन्तरिक छलफलमा सम्भावित उम्मेदवारको चर्चा भने सुरु भइसकेको छ ।  नयाँ संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएपछि काठमाडौँको मेयरमा स्थानीय तहमा क्रियाशील नेतादेखि केन्द्रीय तहका प्रभावशाली नेताको नामसमेत चर्चामा छ ।
संसद्मा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसबाट महानगरपालिकाको मेयरका लागि दुईजना बहालवाला मन्त्रीहरू उद्योगमन्त्री नवीन्द्रराज जोशी र स्वास्थ्यमन्त्री गगन थापा, पूर्वमन्त्री तीर्थराम डङ्गोल र राजु जोशीलगायतको नाम चर्चामा छ ।
मन्त्री जोशी र थापा दुवै जना काठमाडौँबाटै प्रत्यक्ष निर्वाचित सांसदसमेत हुनुहुन्छ ।  डङ्गोल यसअघि काठमाडौँकै उपमेयर र सांसदसमेत निर्वाचित भएपछि मन्त्रीसमेत बन्नुभएको थियो ।  राजु जोशीले काँग्रेस जिल्ला सचिवको भूमिका निर्वाह गरिसक्नुभएको छ ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा काठमाडौँको मेयरका लागि केन्द्रीय सचिव योगेश भट्टराई, केन्द्रीय सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठ तथा उपत्यका इन्चार्ज सानु श्रेष्ठ, विद्यासुन्दर शाक्य लगायतको नाम चर्चामा छ ।  भट्टराई संविधानसभाको गत निर्वाचनमा काठमाडौँकै निर्वाचन क्षेत्र नं. ६ बाट उम्मेदवार बन्नुभएको थियो ।
त्यसैगरी नेकपा (माओवादी) केन्द्रमा हितमान शाक्य, हिमाल शर्मा, सर्वोत्तम डङ्गोल लगायतको नाम मेयरको उम्मेदवारको चर्चामा छ ।  शाक्य माओवादीको पोलिटब्युरो सदस्य हुनुहुन्छ भने यसअघि पार्टीको विद्यार्थी सङ्गठनको अध्यक्ष रहनुभएका शर्मा हाल अर्थमन्त्रीको स्वकीय सचिव हुनुहुन्छ ।  पोलिटब्युरो सदस्य डङ्गोल पार्टीको महानगर इन्चार्जसमेत हुनुहुन्छ ।
शीर्ष दलका नेताहरूले उम्मेदवार छनोटको अन्तिम तयारी भइरहेको जानकारी दिँदै निर्णय गर्न भने हप्ता दस दिन लाग्ने बताउनुभयो ।  “हामी छलफलकै क्रममा छौँ”, नेपाली काँग्रेसका जिल्ला अध्यक्ष सबुज बानियाँले भन्नुभयो, “स्थानीय आवश्यकता र चुनाव जित्ने क्षमता हेरेर उम्मेदवारको नाम टुङ्ग्याउनेछौँ । ”
दलका नेताहरू एकअर्काले उठाउने प्रतिस्पर्धीका आधारमा आफ्नो उम्मेदवारको टुङ्गो लगाउने बताउनुभएको छ ।  काठमाडौँमा ठूलो सङ्ख्यामा रैथाने नेवार समुदाय मतदाता रहेको हुनाले उम्मेदवार छनोटमा सबै दलले यो तथ्यलाई ध्यानमा राखेका छन् ।
“काठमाडौँमा भाषिक, धार्मिक तथा सांस्कृतिक हिसाबले नेवार समुदायको ३० प्रतिशतभन्दा बढी मत छ ।  त्यही मत निर्णायक हुन्छ”, नेकपा (एमाले)का जिल्ला अध्यक्ष कृष्णकुमार राईले भन्नुभयो, “त्यसैले हाम्रो ध्यान त्यही समुदायभित्र राष्ट्रिय व्यक्तित्व बनेको नेतामा छ । ”
माओवादी केन्द्रका ३ नं. प्रदेश सहसंयोजक झक्कु सुवेदीले पार्टीभित्र मात्र नभई पार्टी बाहिरबाट पनि उम्मेदवारीको सम्भावना रहेको जानकारी दिँदै दुईचार दिनभित्रै नाम टुङ्ग्याउने बताउनुभयो ।
“हामी पार्टीभित्रका नेता मात्र नभई हामीलाई माया गर्ने पार्टी बाहिरका वामपन्थी वा स्वतन्त्र व्यक्तिको विकल्पसमेत खोजिरहेका छौँ”, पार्टीले उम्मेदवारबारे निर्णय गर्न आन्तरिक छलफल गरिरहेको बताउँदै सुवेदीले भन्नुभयो, “अहिले काठमाडौँका ३२ मध्ये १८ वटा वडाको भेला सकेका छौँ ।  त्यहाँबाट आएको सुझावका आधारमा उम्मेदवार छनोट गरिनेछ । ”आजको गोरखापत्रमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here