दुल्लु, ३० पुस: नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ ।”
उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै “अब काङ्ग्रेस भित्रको टिके प्रर्था अन्त्य हुन्छ भन्नुभयो ।”
वर्तमान सरकारले सङ्घीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उहाँले सङ्घीय प्रणाली नेपाली काङ्ग्रेसको एजेण्डा भएको बताउनुभयो । नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भएमात्रै प्रेस जगत् स्वतन्त्र हुने बताउनुभयो ।
समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा व्यक्त गर्नुभयो ।

