कांग्रेस नेता पौडेलको रिटमा सर्वोच्चले दियो कारण देखाउ आदेश

काठमाडौं, ७ पुस – तनहुँ क्षेत्र नम्बर-२ को प्रदेशसभा (क) मा पुन मतदान गर्नु पर्ने माग गर्दै कांग्रेसका नेता प्रदीप पौडेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो । साथै, अदालतले १९ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । पौडेल वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग ५ मत अन्तरले पराजित हुनुभएको थियो । तर, ४२ मत फर्जी भेटिएको भन्दै पौडेलले पुनः मतदान हुनु पर्ने माग गर्नुभएको छ ।

यस्तै, संखुवासभाका कांंग्रेस उम्मेदवार दिपक खड्काको रिटमा पनि कारण देखाउ आदेश जारी गर्दै १४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । यसैगरी, धनुषा ३ का वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवको रिटमा कारण देखाउ आदेश जारी गर्दै १९ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

मौन समय र निर्वाचनको दिन वाम गठबन्धनले राजपा उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्ने हल्ला चलाएकाले निर्वाचन परिणाम बदर गर्नु पर्ने उहाँको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here